
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेको छ । यस दिन नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन १ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा सीमित भएको छ ।
आइतबार २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको हो । आइतबार तीन वटा लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यसदिन मानुषी लघुवित्तको सेयरमूल्य ८४७ रुपैयाँ, युनिक नेपाल लघुवित्तको सेयरमूल्य एक हजार ७६४ रुपैयाँ ६० पैसा र शुभम् पावरको सेयरमूल्य ५६७ रुपैयाँ ६० पैसा पुगेको छ ।
यसैगरी, सर्वाधिक मूल्य घट्नेमा सानिमा ग्रोथ फण्ड रहेको छ । उक्त योजनाको सेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ७६ पैसामा झरेको छ । यस्तै, श्रृजनशिल लघुवित्तको सेयर मूल्य ७.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३९० रुपैयाँ कायम भएको छ ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९७५ रुपैयाँमा ६ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशत घटेको छ ।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ४२५ रुपैयाँमा ४ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ । यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले घटेको छ ।