एक दशक लामो शसस्त्र द्वन्द्वको बलमा उदाएको ‘माओवादी केन्द्र’ पार्टी राजनीतिमा आएदेखि नै अपराधिक सञ्जालमा लागेको देखिन्छ । अधिकार र परिवर्तनको नारा दिएर सत्तामा पुगेका माओवादीका नेता र तिनका छोराछोरीहरुको अपराध एकपछि अर्को उदागिंदै गएको छ ।
शान्ति प्रक्रिया पछिका १७ वर्षमा आइपुग्दा छिन्न भिन्न मात्रै भएको छैन, पार्टीको शीर्ष तहकै नेताहरु अपराध र संदिग्ध गतिविधीमा एकपछि अर्को गर्दै मुछिन थालेका छन् । पछिल्लो पटक सुन तस्करीमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरादेखि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरासम्म अपराधमा संलग्न रहेको देखिएको छ ।
कृष्णबहादुर महरा र उनका छोरा राहुल
सोमबार मात्रै माओवादीका उपाध्यक्ष एवं पुर्व सभामुख कृष्णबहादुर महरा संगठित सुन तस्करीको गिरोहसँगको सम्पर्क र संदिग्ध गतिविधिको आरोपमा पक्राउ परे । २०७९ पुस १० मा दुबईबाट नेपाल भित्रिएको करिब ९ केजी सुन ल्याउने दावा जिनवाङलाई काठमाडौंमा संरक्षण दिएको घटनामा महरा र उनका छोरा राहुल मुछिएका हुन् ।
गएको २४ असोजमा महरा र छोरा राहुल सहित ४ जना विरुद्ध संगठित अपार र भन्सार छलीको अभियोगमा मुद्धा दायर भएको थियो । यही कसुरमा महराका छोरा राहुल हाल पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा छन् भने महरालाई भने राजनीतिक दबाबमा उन्मुक्ति दिने काम भएको थियो ।
पुर्व सभामुख महरा विवादमा मुछिएको यो पहिलो घटना भने होइन । २०६७ भदौ १८ मा उनी चिनियासँग सांसद किनबेचका निम्ति पैसाका मागेको अडियो सार्वजनिक र बलत्कार काण्डमा समेत मुछिएपछि विवादमा तानिएका थिए ।
नन्दबहादुर पुन र उनका छोराहरु जितेन्द्र र दिपेश
अपराधको जालोमा मुछिएका महरा एक्ला माओवादी नेता होइन । पछिल्लो समय संगठित सुन तस्करीमा पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनका दुई छोराहरु जितेन्द्र र दिपेश मुछिएको सार्वजनिक भयो । सुन तस्करी र सहकारी ठगी लगायतका अपराधका घटनामा मुछिएका दिपेश शुक्रबार पक्राउ परे भने जितेन्द्र फरार रहेका छन् ।
२०८० असारमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको करिब ६१ किलो सुन र त्यसअघि २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा पनि दिपेश मुछिएका थिए । उनले अढाई करोडको चार किलो सुन १ बर्षका लागि बार्षिक ७१ लख ब्याजसहित तिर्ने शर्तमा कागज गरेर उधारोमा लिएका थिए ।
हुम्लाको हिल्सा हुँदै तिब्बत प्रवेश गर्न सुन तस्करी गर्न जितेन्द्रले पहुँच प्रयोग गरेर गृह मन्त्रालबाट फर्जी कागजात निकालेको समेत पुष्टि भइसकेको छ र ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा उनी चिनियाँ अदालतबाट दोषी ठहर भएको समेत पुष्टि भएको छ ।
वर्षमान पुन र उनका भाई प्रनिश
माओवादीका उपमहासचिव एवं वर्तमान अर्थमन्त्री बर्षमान पुनको पनि नाम सुन तस्करीमा जोडिएको थियो । तर उनी अर्थमन्त्री बनेपछि उनको नाम जोगाइएको छ । वर्षमान पुनको व्यवसायीसँगको फोन सम्वाद र घरमा जम्काभेटको फोटो समेत सार्वजनिक भएको थियो । विगत पल्टाउने हो भने उनको साइनो र सम्बन्ध कैयन संदिग्ध पात्रहरुसँग भेटिन्छ ।
६० किलो सुन तस्करीमा बेल्जियमा नागरिक दावा छिरिङ पक्राउ परेपछि दावा र उनकी श्रीमती अमला रोकामगरसंग बर्षमानको लामो सम्बन्ध भेटिएको थियो । हिमालखबरले बर्षमानका भाइ प्रनिश पुन मगर संगठित सुन तस्करीमा पक्राउ परेका दावासँग व्यापारिक साझेदारी गरेको कुरा सार्वजनिक गरेको थियो ।
टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप
माओवादी राजनीतिबाट उदाएका र नेकपा विभाजनपछि एमाले प्रवेश गरेर सचिव भएका टोपबहादुर रायमाझी यतिबेला पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन् । माओवादी पार्टीमा छंदा सचिव सम्म भएका उनी पुर्व उपप्रधानमन्त्री समेत बने । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीलाई ठगेको मुद्धामा उनी संग्लन रहेको भेटिएको थिया ।
यो घटनामा उनका छोरा संदिप रायमाझी पनि जोडिएका छन् । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यलयले रायमाझी बाबुछोरा सहितका ३० जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
रामबहादुर थापा र उनका छोरा प्रतिक
टोपबहादुर जस्तै नेकपा विभाजनपछि एमाले प्रवेश गरेका रामबहादुर थापा बादल पनि अपराधमा तानिएका हुन । पछिल्लो समय बादलका छोरा प्रतिक थापा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिए । प्रतिकमाथी काठमाडौं जिल्ला अदालतमा संगठित अपराध, राज्य विरुद्वको अपराध, किर्ते, ठगी लगायतका कसुरमा मुद्धा विचाराधीन छ भने उनी हाल फरार छन् । बाबु रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतिकले शरणार्थी प्रकरणमा गिरोहसँग मिलेर रकम असुलेको आरोप लागेको छ ।
अमला मगरदेखि शमसेर मियाँसम्म
माओवादी निकट रोल्पा काठमाडौं सम्पर्क मञ्चमा अमला मगरदेखि माओवादी निकट उनी नेपाल हज कमिटीमा अध्यक्ष शमसेर मियाँसम्म अपराधमा मुछिएको कुरा सार्वजनिक भइसकेको छ । चिनिया सुन तस्कर रहेका तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती रहेकी अमला अहिले फरार छिन् ।
अमला र दावाले माओवादीका सबैजसो शीर्ष नेतासँग सम्बन्ध विस्तार गरेर संगठित अपराधको धन्दा चलाएको देखिन्छ । सुन तस्करको अमलासहितको गिरोहले तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा अर्का एक चिनियाँ नागरिकलाई पासाङ तामाङको नाममा नक्कली नेपाली नागरिकता दिलाएको थियो ।
शमसेरले भने शक्तिको दुरुपयोग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तसँग मिलेर धन्दा चलाएका थिए । गत जेठमा उनी सिहंदरबारभित्रैबाट पक्राउ परेपछि नक्कली शरणार्थीको धन्दा चलाउन उनले माओवादी नेताहरुको संरक्षण लिएको खुलासा भयो ।
ईन्टरनेट फिसिङ अर्थात जालसाझी गरेर अमेरिकी नागरिकको बैंक खातामा रहेको रकम ठग्ने र उक्त रकम अवैध रुपमा नेपाल भित्र्याउन अर्थमन्त्रीकै शक्ति र पहुँच प्रयोग गर्ने ब्यक्तिका रुपमा चिनिएका पृथ्वीबहादुर शाहले पुर्व अर्थमन्त्री जर्नादन शर्माको राजनीतिक संरक्षण लिएका थिए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संग्लन गिरोहसंग पनि सर्म्पक बनाएका पृथ्वीबहादुरले ५६ अमेरिकी नागरिकलाई ठगेको कसुर र ६३ करोड विदेशी मुद्रा अवैध रुपमा नेपाल भित्र्याउन उनले माओवादी नेता एवं पुर्व अर्थमन्त्री जर्नादन शर्माको प्रयोग गरेका थिए ।
अपराधका एक पछि अर्को सार्वजनिक घटनामा माओवादीका नेता र तिनका छोराछोरी र आसेपासे मुछिएका घटनाले के माओवादीको अपराधीकरण भइसकेको हो भन्ने गम्भीर प्रश्न उब्जाएको छ । शीर्ष नेतृत्व अपराधमा मुछिएका घटनाहरु एकातिर छ भने अर्कोतिर शान्ति प्रक्रियापछिका प्रत्येक निर्वाचनमा माओवादीको आकार खुम्चिदै गइरहको छ ।
पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ गरेर २ सय २० सिट जितेर प्रथम भएको माओवादी दोस्रो संविधानसभा चुनावमा ८० सिटमा खुम्चियो । २०७४ को संसदिय चुनावमा ५३ सिटमा सीमित भएको माओवादी २०७९ मा भएको संसदिय चुनावमा ३२ सीटमा सीमित भयो ।