जनकपुरधाम:अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरीका स्थानीय तहमध्ये बोदेवरसाइन नगरपालिकाबाट सबैभन्दा बढी उजुरी परेको पाइएको छ । चालु आर्थिक वर्षको आठ महिनामा अख्तियारको इटहरीस्थित कार्यालयमा बोदेवरसाइन नगरपालिकाबाटमात्रै ५३ वटा उजुरी परेका छन् । तीमध्ये १६ वटा उजुरी फर्छ्योट भएका सो कार्यालयका प्रमुख सुरेश न्योपानेले जानकारी दिए ।

गतवर्ष र यसवर्षको फागुनसम्ममा गरी सो नगरपालिकाका उजुरीमध्ये ४३ वटा उजुरी छानविनको क्रममा रहेका छन् । जिल्लामा राजविराज नगरपालिकामा पनि धेरै उजुरी छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सो नगरपालिकामा ३९ वटा उजुरी परेका छन् । जसमध्ये १९ वटा फर्छ्योट भएका र २० वटा फर्छ्योट हुन बाँकी रहेका अख्तियारले जनाएको छ ।

सप्तरीबाट उजुरी पर्ने तेश्रो नगरपालिका हो, डाकनेश्वरी नगरपालिका । यो पालिकामा यसवर्ष ३८ वटा उजुरी परेका छन् । जसमध्ये २२ वटा फर्छ्योट भएका छन् भने यसवर्ष १६ वटा र गतवर्षको १० वटा गरी २६ वटा उजुरी छानविनका क्रममा रहेको न्योपानेले जानकारी दिए । यस्तै, चालु आर्थिक वर्षको फागुनसम्ममा महदेवा गाउँपालिकाबाट ३७, रुपनी गाउँपालिकाउपर ३४, कंचनरुप नगरपालिकामाथि २६, सप्तकोसी नगरपालिकाउपर २४ वटा उजुरी अख्तियारमा परेका छन् ।

यस्तै, सुरुंगा नगरपालिकामा २०, हनुमाननगर कंकालिनी नगरपालिकामा २१, विष्णुपुर गाउँपालिकामा १७, बलानबिहुल गाउँपालिकामा १४, शम्भुनाथ नगरपालिकामा १२, तिरहुत गाउँपालिकामा १०, खडग नगरपालिकामा ११, छिन्नमस्ता गाउँपालिकामा १०, तिलाठी कोईलाडी गाउँपालिकामा १२, अग्नीसाइर कृष्णासवरणमा ३ र राजगढ गाउँपालिकामा ५ वटा उजुरी परेका अख्तियारले जनाएको छ ।

जिल्लाका स्थानीय तहहरुमाथि अत्यधिक उजुरी परिरहँदा पालिका प्रमुखहरु भने राजनीतिक द्वन्द्वका कारण उजुरी दिने क्रम बढेको बताउँदै आएका छन् ।

सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाका नगरप्रमुखसहित केही कर्मचारीमाथि अख्तियारले बिशेष अदालतमा दायर गरेको आरोप पत्र पुष्टि भइसकेर उनीहरु निलम्बित भइसकेका छन् भने विष्णुपुर गाउँपालिकाका अध्यक्षसहितका कर्मचारीमाथि बिशेष अदालतमा दायर आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित छन् । बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह भने बिशेष अदालतबाट सफाई पाएर काममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको