जनकपुरधाम:सुनतस्करी प्रकरणमा पछिल्लो पटक माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सो प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको समेत कनेक्सन देखिएको थियो । तर उनी राजनीतिक शक्तिको आडमा उम्किन सफल भएका छन् ।
सुन तस्करीका नाइके जीवनकुमार गुरुङविरुद्धको मुद्दा निकै फितलो बनाएको पाइएको छ । १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगो कायम गरिएको मुद्दाका अभियुक्त गुरुङ काठमाडौं जिल्ला अदालतबाट आइतबार मात्र १५ लाख धरौटीमा रिहा भएका छन् ।
उक्त कसूरमा संलग्नता छैन भन्न नसकिएको अवस्थामा निजलाई थुनामा राख्नुपर्नेसम्म नदेखिएको, आरोपित कसूरमा संलग्न छैन भन्न सकिने अवस्था नदेखि पनि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र दफा ७२ को कानूनी व्यवस्थासहितको आधारमा १५ लाख रुपैयाँ वा सो बराबरको जेथा जमानत माग गरी दिए मुद्दा पुर्पक्षका निमित्त तारेखमा राख्नू,’ न्यायाधीश उपाध्यायले गरेको आदेशमा उल्लेख छ ।
गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार ऐन, २०६४ को दफा ३, दफा १८ (१), दफा (३८), दफा ५७ (१), नेपाल राजपत्रको खण्ड ७३, जेठ १५ गते,२०८० साल अतिरिक्तांक ५ को १, १(घ), (ख) बमोजिम सजायसम्बन्धी माग दाबी लिई मुलुकी फौजादरी कार्यविधिसंहिता २०५७ को दफा ३१ (३) बमोजिम मुद्दा चलाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पनि २०८० चैत १ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानको आधारमा मुद्दा चलाउने निर्णय गरी चैत २ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
मुद्दाको नालीबेली
२०८० मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबईको उडान नम्बर एफ.जेड ५७३ बाट काठमाडौं आएका नेपाली नागरिक राहदानी (पीए०१४५४८८) बाहक चन्द्र घले १४ किलो बिस्कुट आकारको शुद्ध सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । पक्राउ परेका घलेसँग विमानस्थल भन्सार कार्यालयले सोधपुछ मीनबहादुर घलेको सुन भनी बयान दिएका थिए ।
भन्सार कार्यालयले गरेको थप अनुसन्धानबाट घलेसहितले दुबईबाट पटक–पटक गरी १३८ किलो सुन भन्सार छली चोरी निकासी गरेको भन्दै १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी उनीहरूउपर मुद्दा दायर गरिएको थियो ।
उक्त अभियोगमा जीवन गुरुङको पनि संलग्नता खुलेको थियो । गुरुङको संलग्नता खुलेपछि भन्सार कार्यालयले काठमाडौं जिल्ला अदालतबाट २०८० पुस ८ गते पक्राउ अनुमति लिई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको थियो । पक्राउ परेका चन्द्र घले, मीनबहादुर घले र जीवन गुरुङबीच अवैध सुनको कारोबार सम्बन्धमा व्हाट्सएप, भाइबरमा भएको दोहोरो कुराकानी, पटक–पटक भएको फोन सम्पर्कको आधारमा गुरुङ पनि संलग्न रहेको भनी मुद्दा दायर गरिएको थियो ।
गुरुङ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको परराष्ट्र विज्ञका रूपमा कार्यरत थिए । उपराष्ट्रपति कार्यालयले पठाएको कल डिटेल्समा मीनबहादुर घलेले २०७९ पुस २७ गतेदेखि २०८० माघ २२ गतेसम्म १ वर्षको अवधिमा मात्र ५५३ पटक फोन सम्पर्क गरेको खुलेको थियो । घले पक्राउ परेलगत्तै गुरुङ फरार भएका थिए । पछिल्लो पटक उनी पक्राउपछि रिहा पनि भइसकेको छ ।
वर्षमानको नामै गायब !
विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र वर्षमान पुन (हाल अर्थमन्त्री) बीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ । पुनको मोबाइल नम्बर ९८५११०२८८२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००८८४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।
सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री वर्षमान पुन र उनका परिवारिक सदस्य भाई प्रनिश पुन तथा श्रीमति पुर्व सभामुख रहिसकेका ओन्सारी धर्ती मगरको नाम नै गायब भएको छ । अर्थमन्त्री पुनकै मातहतमा भन्सार विभाग छ र विभागकै हिरासतमा सुन प्रकरणका नाइके गुरुङको मुद्दा फितिलो बनाई धरौटीमा रिहा गराइसकेका छन् ।
गुरुङसँग पटक–पटक फोनमा कुरा गरेका पुन सुन प्रकरणको मुद्दा कमजोर पार्ने योजनासहित अर्थ मन्त्रालयमा चर्चा हुन थालेको छ । नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक उपसचिवले भने, ’सुन प्रकरणमा जोडिएको व्यक्ति अर्थमन्त्री हुनु र अर्थ मातहतको भन्सार विभागले यसको छानबिन गर्नु भनेको दूधको साक्षी बिरालोजस्तै हो । कर्मचारीलाई भ्रष्ट भनेर आरोप लगाउने राजनीतिज्ञहरू नै खुलेआम सुन तस्करको संरक्षणमा आउँछन् भने त्यो भन्दा विडम्बना के हुन्छ ?’
मुख्य अभियुक्त दावा छिरिङ सँगै बसेको र खाना खाएको तस्वीर समेत सार्वजनिक भएको थियो । सो तस्वीरले उनीसँगै उनका पारिवारिक सदस्य पनि छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको थियो । तर, पनि उनीमाथि यस विषयमा अनुसन्धान हुन सकेको छैन । सत्तारुढ दलको प्रभावशाली नेता भएकाले पुन अनुसन्धानबाट बच्दै आएका छन् ।
सुन तस्करीका मुख्य नाइके नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङसँगको तस्वीर सार्वजनिक भएपछि अर्थमन्त्री पुनले दावासँग बिहे गरेकी अमला रोका आफ्नो गाउँले बहिनी भएको कारण सँगै बसेर खाना खाएको सञ्चारकर्मी समक्ष दाबी गरेका थिए । यति मात्र होइन सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङले काठमाडौं–२९ मा सञ्चालन गरेको ‘भियना मल्टिप्रपोज ग्रुप प्रालि’ मा वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगरको ३० हजार कित्ता सेयर रहेको पुष्टि भइसकेको छ ।
कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेख अनुसार यो कम्पनीमा अमला, दीपक बुढा, सिशम रोका मगर र प्रनिशको शेयर छ । तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीका अध्यक्ष अमला हुन् । दीपक अमलाका भाइ हुन् भने सिशम छोरी छन् । अमलासँग विवाह गरेपछि दावाले २०७५ सालमै काभ्रेबाट वंशजको आधारमा नेपाली नागरिकता र राहदानी लिएका थिए, जसको खुलासा भएको थियो ।
दावाले चिनियाँ नागरिकलाई वैदेशिक लगानीकर्ताको आवरणमा नेपाल भित्र्याउने गरेका छन् । वर्षमान र ओनसरीलाई यही आवरणमा समेत बारम्बार भेटेको तथ्य प्रहरीले पाँच वर्षअघि नै सङ्कलन गरेको थियो। ओनसरी सभामुख छँदा उनको कार्यकक्षमै दावा सहितको समूहले भेट्ने गर्थ्यो । कयौं चिनियाँ नागरिकलाई समेत दावाले ओन्सारी र वर्षमानको सहयोगमा नेपाली नागरिकता बनाई दिएको भन्ने आशंका प्रहरीले अघि बढाएको छानबीन प्रक्रिया समेत माओवादी शिर्ष नेताहरुको जोडबलमा रोकाइएको बुझिएको छ ।