जनकपुरधाम:धनुषाका गणेशमान चारनाथ नगरपालिकाका सुकुम्बासी तथा वर्षौदेखि अव्यवस्थित बसोबास गर्दै आएकाहरुको सुरक्षित आवासका लागि घर निर्माण कार्य विधिवत रुपमा शुरु भएको छ ।
नगरपालिकाले सुरक्षित आवास कार्यक्रम अन्तर्गत दातृ निकाय हैबिट्याट फर ह्युमिन्टिज नेपाल र सिआईसीको साझेदारीमा नगरपालिकाको वडा नं. ७ स्थित सन्तनगरमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका ३६ परिवारका लागि उपचारित बाँसको घर निर्माण शुरु गरेको हो ।
गत तीन दिनअघि शनिवारका दिन मधेश प्रदेशका सभा सदस्य सञ्जय महतो, नगरपालिकाका मेयर जितनारायण यादव र उपमेयर तुलसाकुमारी पाण्डे संयुक्त रुपमा शिलान्यास गरेका थिए । घर निर्माण कार्य शुरु भए÷नभएको र त्यसको प्रगति हेर्न दातृ निकाय हैबिट्याट फर नेपाल तथा अष्ट्रलियाका प्रतिनिधिहरुले मंगलवार निरिक्षण गरेका हुन ।
सो निरिक्षण टोलीमा हैबिट्याट फर ह्युमिन्टि नेपालका एलिजा स्थापित, हैबिट्याट अष्ट्रेलियका मैनेजर क्रिस गोभर, डिफेट एड अष्ट्रेलियाका कार्यकारी प्रबन्धक कविता क्यास्थालन्थ, अष्ट्रेलियन राजदूतावासका प्रतिनिधि कमाक्षी एखाखुम्बा जिल्ला भूमि आयोगका अध्यक्ष सुरेश कोइराला, प्रवक्ता रामगोविन्द यादव, सीआइसीका संजय साह र नगरपालिकाका मेयर जीतनारायण यादव, उपमेयर तुलसाकुमारी पाण्डे लगायतका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
घर निर्माणका लागि नीउको खाल्डो खन्ने, ब्लक बनाउने लगायतका कार्य पहिलो चरणमा शुरु भइसकेको छ । सो घर निर्माणका लागि घरधनीले श्रमदान गरिरहेका छन् भने हैबिट्याट नेपालले आर्थिक सहयोग सहित आफ्ना प्राविधिक सहयोग पनि दिइरहेका छन ।
घरधनीको श्रमदान सहित घर निर्माणका लागि २ करोड ३ लाख ९० हजार अनुमानित लागत रहेको छ । जसमा नगरपालिकाले एक करोड २४ लाख रुपियाँ र ६० लाख रुपियाँ ह्याविट्याट र सामुदायिक सुधार केन्द्र (सीआईसी) ले खर्च गर्ने जनाइएको छ ।
वर्षौदेखि सुकुम्बासी भई सन्तनगरमा बसोबास गर्दै अव्यवस्थित दुसाद, मण्डल, यादव र थारु जतिका ३६ घरधुरीका लागि स्थायी र व्यवस्थित बसोबासका लागि नगरपालिकाबाट ४३ बिघा नदी उकास जग्गामा प्रतिपरिवार १० धुर जग्गा शैचालय, किचेन सहित दुई कोठे घर निर्माण गरेर उपलब्ध गराउनेछ । त्यसमा खानेपानी र बिजुलीबती समेतको व्यवस्था रहने नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले जानकारी दिएका छन् ।
जिल्ला भूमि आयोग कार्यालयका प्रवक्ता रामगोविन्द यादवले सुरक्षित आवास अन्तर्गत घर पाउने प्रत्येक परिवारलाई मापदण्ड पक्रिया पु¥रयाएर जग्गाको लालपूर्जा उपलब्ध गराउने बताए । सिआईसीका अध्यक्ष सञ्जय साहले प्रत्येक परिवारका लागि जस्ताको छाना, उपचारित बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर प्लाष्टर सहितको दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गरिने जानकरी दिए ।
अध्यक्ष साहले घर निर्माणपछि सुकुम्बासी परिवारको आयस्तरमा वृद्धि ल्याउन, बालबालिकाको शिक्षा, शिशु तथा वृद्धवृद्धाको स्याहार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउंदै त्यसका लागि विभिन्न सङ्घसंस्थासँग सम्झौतासमेत भइसकेको जानकारी दिए ।