
जनकपुरधाम: मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रीदेखि सचिवसम्मले लिंदै आएको सुराकी खर्च कटौती गरिएको छ । विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि गृह, सञ्चार तथा कानून मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेको हो । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए । जिम्मेवारी पाए लगतै उनले पहिलो निर्णय सुराकी खर्च कटौतीको गरेको हो ।
मधेसमा सुराकी खर्चका रुपमा मनपरी रकम बुझ्ने प्रवृत्तिबारे करीब दुई÷तीन वर्षदेखि पटक पटक विभिन्न सञ्चार माध्यमहरुले समाचार प्रकाशन गर्दै आएको थियो । अन्ततः मंगलवार उनले पदभार ग्रहण गर्दै मन्त्रीले खर्च कटौतीको निर्णय गरेका हुन् ।
मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका थिए । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका छन् ।
‘गृह मन्त्रालयमा अहिलेसम्म सुराकीको नाममा मन्त्री, राज्यमन्त्री र सचिवले मनपरी रकम बुझ्ने गरेका थिए । म पदभार ग्रहण गरेपछि त्यो खर्च कटौती गर्ने पहिलो निर्णय गरेको छु । यो निर्णय क्याबिनेटमा लग्ने मन्त्री यादवले भने ।’