जनकपुरधाम: २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाका क्रममा धाँधली भएको भन्दै परेका तीनवटा रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

२०७९ को निर्वाचनमा पराजित ३ जना उम्मेदवारहरूले दायर गरेका रिटलाई सर्वोच्चको संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

२०७९ को आमनिर्वाचनमा झिनो मतले पराजित भएका उम्मेदवारहरू धनुषाका उमाशंकर अरगरिया, रुपन्देहीका गणेण्श पौडेल र इलामका डम्बरबहादुर खड्काले दायर गरेका रिट खारेजीमा परेका हुन् ।

बुधबार सर्वोच्च अदालतका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमा सम्मिलित संवैधानिक इजलासले उनीहरू तीनैजनाको रिट खारेज गरिदिएको हो ।

२०७९ को निर्वाचनमा अरगरिया धनुषा क्षेत्र नम्बर २ मा अरगरिया झिनो मतले पराजित भएका थिए । अगरियालाई १५७ मतले पराजित गर्दै नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका थिए ।

यादवले २० हजार ११२ मत ल्याउँदा अरगरियाले १९ हजार ९५५ मत प्राप्त गरेका थिए । त्यसपछिले उनले धाँधली आरोपसहित निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले पुनः मतदान र मतगणनाको क्रममा धाँधली भएको भन्दै रिट हालेका थिए । गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

उक्त निर्वाचनमा एमालेका उम्मेदवार विष्णु पौडेलसँग गणेश पौडेल १ हजार ३ सय ६६ मतले पराजित भएका थिए ।

उता इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङविरुद्ध कांग्रेसका डम्बर खड्काले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

मतगणनामा धाँधली गरेर नेम्वाङलाई जिताएको भन्दै खड्काले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटलाई पनि सर्वोच्चले खारेज गरिदिएको छ ।

एमाले उपाध्यक्ष नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।

त्यसपछि खड्काले मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबरजस्ती विजयी बनाएको भन्दै रिट हालेका थिए ।

यसबीचमा एमाले उपाध्यक्ष नेम्वाङको निधन भइसकेको छ । उनको निधन भएर खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । जहाँ २०७९ मा पराजित खड्का कांग्रेसबाट दौडमा छन् भने दिवंगत नेता नेम्वाङ पुत्र सुहाङ एमालेबाट प्रवल दाबेदार छन् ।

उता नेकपा विभाजनपछि एमालेमा बस्दा राष्ट्रिय सभा सदस्य पद गुमाएका पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले दायर गरेको रिट पनि संवैधानिक इजलासले खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको