जनकपुरधाम:कच्चा पदार्थ अभावमा कैलाली जिल्लाका १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै छ। महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ ।
कैलालीमा हालसम्म १५ हजार ४३४ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये १३७ उद्योगको दर्ता खारेज भएको छ । हालसम्म उत्पादनमूलक तीन हजार १९४, कृषि छ हजार ४८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार ६७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन् ।
साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार ४३४ उद्योगमा २५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको छ ।
कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार १२० महिला र ६९ हजार ६११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ। यसैगरी गत आर्थिक वर्ष २०७९÷८० मा सो कार्यालयले ५२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आव २०८०÷८१ को फागुनसम्मएक करोड पाँच लाख रुपैयाँ राजस्व मात्र संकलन भएको छ ।