जनकपुरधाम:लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारलाई दिदै आएको समर्थन जारी राख्ने संकेत गरेको छ । नयाँ सत्ता समिकरण अनुसार संघमा विपक्षमा रहेको लोसपाले मधेस सरकारलाई दिएको समर्थन जारी राख्ने जनाएको छ । महोत्तरीको बर्दिवासमा चैत ६ र ७ गते बसेको लोसपा नेपाल मधेश सरकारमा यथास्थितिमा रह्ने संकेत गरेको हो ।

बैठकबाट बीआरआई सम्झौता नेपालको हितमा नरहेको ठहर गरिएको छ । लोसपाले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्दै संघीयताको पूर्ण कार्यान्वयनको माग गरेको छ । पार्टीले संविधान संशोधनको माग गर्दै नागरिकता सम्बन्धी अन्य समस्याहरू समाधान गर्न सरकारसँग माग गरेको छ ।

मधेस आन्दोलनमा घाइते भएकालाई उपचार गर्नुका साथै तथा लागेको मुद्दा फिर्ता हुनुपर्ने माग लोसपाको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सो पार्टीले माग गरेको छ ।

लोसपाले विगतदेखि अहिलेसम्म सबै लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति जाँचका लागि माग गरेको छ । कृषिको उत्थानको लागि किसानहरूलाई समयमा मल उन्नत बिउ विषादी मलमा उचित अनुदानको लागि सो पार्टीले सरकारसँग माग गरेको छ ।

यता लोसपाले बैठकबाट नेता राजेन्द्र महतोको बारेमा कुनै निर्णय गरेको छैन । महोत्तरीमा दुई दिनसम्म चलेको बैठकमा यसबारे छलफल भए पनि महतो आफैँ पार्टी छाडेर गइसकेका कारण यसबारे थप निर्णय गरिरहनु आवश्यक नरहेको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताए । यद्यपि पार्टीबाट उनले अझै राजीनामा दिएका छैनन् ।

लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार महतोले पार्टी छाडेर गइसकेका कारण उनको बारेमा पार्टीका तर्फबाट कुनै निर्णय गरिरहन आवश्यक नरहेको हो ।

नेपाल–भारत सीमा व्यवस्थापन गर्ने नाममा आम नागरिकलाई दुःख दिने कार्य अविलम्ब रोक्न पनि लोसपाले माग गरेको छ । आउने दिनमा पार्टीले अविलम्ब जिल्ला–जिल्ला, पालिका र वडासम्म पार्टीको पुनर्गठन गरि सुदृढीकरण अभियानलाई द्रुतगतिले अगाडि बढाउने बताएको छ ।

एक वर्ष भित्रै महाधिवेशन गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको बर्दिवासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनःगठन गरी सुदृढीकरण अभियान चलाउने बताए ।

लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन । सरकारमा रहँदा लोसपा संविधान संशोधन, नागरिकता समस्या, मधेश आन्दोलनकारीमाथि चलाइएको मुद्दाबारे मौन थियो ।

तर वर्तमान सरकार तथा गठबन्धनमा सहभागी नभएको लोसपाले पुनः ती मुद्दा उठाउने निर्णय गरेको छ ।

अध्यक्ष ठाकुरले वर्तमानमा अपुरो संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदान सहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको उनले बताए ।

अध्यक्ष ठाकुरले राजेन्द्र महतोले पार्टी छोडेपछि पार्टीलाई हित नै भएको बताए । ’पार्टीभित्र बसेर पार्टीको बिनाकुनै अनुमति लिएर कार्यक्रम गर्छ कोही भने त्यो गए के हुन्छ ?’, उनले भने ।

महतोको अभियानले मधेसमा कस्तो प्रभाव पार्छ त्यो पछि देखिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको