जनकपुरधाम:धनुषामा घाँटी रेटेर एक युवकको हत्या भएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हामा युवकको घाँटी रेटेर हत्या भएको हो ।स्थानीय अब्दुल करिम नदाफको १८ वर्षीय छोरा कैफ नदाफको हत्या भएको प्रहरीले जनाएको छ ।चक्कुल घाँटी रेटेर घाइते भएका कैफ भागेर घटनास्थलबाट करिब ४०–५० मिटरको दूरीमा रहेको घर पुगेका थिए । आफन्तले उपचारका लागि उनलाई भारत लगेका थिए ।
उपचारको क्रममा उनको भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।घटनामा संलग्न भएको आरोपमा स्थानीय २० वर्षीय सहमद नदाफ र २२ वर्षीय जासिम नदाफसहित दुई जनालाई पक्राउ गरिएको उनले बताए ।प्रहरीका अनुसार सहमद र जासिमले फोन गरेर कैफलाई बुधबार राति करिब साढे १० बजेतिर नेपाल–भारत सीमानजिकै रहेको स्थानीय ठगना भन्ने व्यक्तिको आँप बगैचामा बोलाएका थिए ।
रोजा ब्रत सकिएर बगैचामा बसेर तीनै जनाले बियर खाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।बियरको पैसा र कैपको मोबाइलमा भएको एक भिडियाको विषयमा उनीहरूबीच विवाद भएको डिएसपी अवाले बताए ।विवादकै क्रममा सहमद र जासिमले चक्कुबाट कैफको घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ ।
‘रोजाको ब्रत सकिएपछि तीनै जना आँपको बगैँचामा पुगेर बियर खान्छन्, पैसा र मोबाइलमा भएको भिडियोका लागि उनीहरूबीच विवाद हुन्छ,’ उनले भने,‘त्यसै क्रममा दुई जना मिलेर कैफको घाँटी रेट्छन् । उनी भागेर घर पुग्छन् । आफन्तले उपचारका लागि भारत लग्छन् । उपचारकै क्रममा उनको मृत्यु हुन्छ ।’
अवाका अनुसार कैफका आफन्तले घटनाबारे प्रहरीलाई राति २ बजे जानकारी गराएका थिए ।घटनामा संलग्न भनिएका दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ ।