शारदा डिष्ट्रलरीका मालिक गोयन्का फरार
जनकपुरधाम:राजस्व छली गरेको आरोपमा आशिष जनरल स्टोरका मालिक ललनकुमार यादव र शारदा डिस्टलरीका म्यानेजर लोकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ भने डिष्ट्रलरीका मालिक प्रमोद गोयन्का फरार भएको छ ।
यादव र बस्नेत राजस्व कार्यालयमा बयान दिएर फर्किएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । राजस्व कार्यालयले शुक्रबार पनि बयान लिने जनाएको छ ।
‘बयान नसकिएकाले बस्नेत र यादवलाई प्रहरी नियन्त्रणमा पठाएका छौं,’ आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुण्य रिजालले भने, ‘शुक्रबार पनि बयान लिइनेछ । एउटा स्टिकरलाई दुई टुक्रा पारेर राजस्व छली गरेको विषय अब पुष्टि नै भइसक्यो तर कति परिमाणमा त्यो गरेका छन् । मूल्यांकन गरिरहेका छौं । बयान सकिँदासम्म राजस्व छलीको मूल्यांकनसमेत सक्छौं, त्यसपछि मुद्दाको प्रक्रिया अघि बढ्छ ।’
यसैबीच आन्तरिक राजस्व कार्यालय लहानले शारदा डिस्टलरी उद्योगमा सिलबन्दी गरेपछि मालिक प्रमोद गोयन्का भने फरार भएका छन् । गोलबजार नगरपालिका ९, सिरहामा रहेको शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको थियो ।
समाचार प्रकाशनमा आए लगतै आन्तरिक राजस्व कार्यालय लहानले उद्योग र माडरस्थित गोदाम सिल गरेर यस विषयमा अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा राजस्व कार्यालयले उनलाई बयानका लागि बोलाएकामा गोयन्का फरार भएका हुन् । आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख रिजालले गोयन्का भारततर्फ गएको जानकारी दिएका छन् ।
‘आफू भारतमा रहेको भन्दै गोयन्काले चिठी दिएर प्रतिनिधिको रुपमा सुपरभाइजर लोकबहादुर बस्नेतलाई बयानका लागि पठाएका छन्,’ रिजालले भने । ‘गोयन्का आफू भारतमा रहेको बताएर प्रतिनिधि पठाएका छन्, उनी आफै होलीपछि आउने बताएका छन्,’ रिजालले भने । राजस्व छलीमा कारबाहीमा परिने भएपछि उनी भारत भागेको आशंका गरिन थालिएको छ ।