जनकपुरधाम:नेपाली कांग्रेसले स्थानीय र आम निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरेका नेता–कार्यकर्तालाई माफी दिने तयारी थालेको छ । कांग्रेसको अनुशासन समितिले आफ्नो पार्टीका उम्मेदवार नभएको ठाउँमा गठबन्धनमा विद्रोह गर्नेहरूको कारबाही फुकुवा हुने भएको हो ।
कांग्रेस अनुशासन समितिले २०७९ वैशाखमा भएको स्थानीय गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र जसपाका उम्मेदवारविरुद्ध बागी दिएकालाई माफी दिने तयारी छ । यस्तै गत मंसिरमा ४ मा भएको आम निर्वाचनमा गठबन्धनमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका उम्मेदवारविरुद्ध उभिएका कांग्रेस नेता–कार्यकर्ताले पनि माफी पाउने छन् ।
गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कांग्रेसले पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासित गरेको थियो । गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट अजय द्विवेदी, रामकुमार राई, राजन कुँवर, महादेव गुरुङ, धर्मराज पोखरेल लगायतका नेता कारबाहीमा परेका छन् । कांग्रेस अनुशासन समितिका सदस्य सञ्जय गौतमले आगामी चैत १५ गते बस्ने बैठकले कारबाहीको सिफारिसको वर्गीकरण गर्ने बताए ।
उनले भने, ‘हामीले पार्टीका उम्मेदवार र कांग्रेसको उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारविरुद्ध उभिएकाहरूको वर्गीकरण गर्छौँ । त्यसपछि एउटा निर्णयमा पुग्छौँ ।’ गठबन्धनले कांग्रेसमा समस्या निम्त्याएको भन्दै गठबन्धनमा विद्रोह गरेकाहरूको कारबाही फुकुवा गर्ने सम्भावना गरेको बताए ।
‘गठबन्धन देखि हालियो । यसले पार्टीमा समस्या निम्याएको छ । गठबन्धनमा बागी उम्मेदवारी दिँदा निष्कासित भएकाहरूमा फरक ढङ्गले अगाडि बढ्ने कि भन्ने छ,’ उनले भने, ‘ चैत १५ मा हाम्रो बैठक बस्दैछ । त्यसपछि पार्टीका नेताहरूसँग पनि छलफल गर्छौँ ।’
कांग्रेसले यसअघि गत वैशाखमा भएको उपनिर्वाचनमा पार्टीलाई सहयोग गरेका र स्वतन्त्र उम्मेदवारी दिएर जिताहरुको हकमा कारबाही फुकुवा गरिसकेको छ । कांग्रेसले चितवन— ३ मा बाजी उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा पनि फुकुवा गरिसकेको थियो ।
कोइरालाका साथै चितवन पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन– ३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवारभन्दा कोइरालाले विद्रोह गरेका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए । चुनावताका कोइराला एमाले प्रवेश गर्ने चर्चा थियो । कोइराला भने कांग्रेसकै राजनीतिक गतिविधिमा फर्किए ।
यस्तै गत साउनमा कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर विजयी भएका १४ जनाको कारबाही फुकुवा गरेको थियो । कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाहीको कारबाही फुकुवा गरेको थियो ।
दैलेखको जिल्ला समन्वय समिति प्रमुख नवराज शाही, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाह, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर राजुसिंह कठायत, बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री, उपप्रमुख तारादेवी महतोको कारबाही फुकुवा भएको थियो । यस्तै बर्दिबासका वडाध्यक्ष भोला खड्का, राम यादव, विजयकुमार महतो, सदस्यहरू विदेश्वर शाह, रुकुम तामाङ र लक्ष्मण सिंहको पनि कारबाही फुकुवा गरेको थियो ।