जनकपुरधाम:सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा रक्षा सीमामा बस्ने सबैको जिम्मेवारी रहेको बताएका छन् । शुक्रबार वीरगन्जमा भएको सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत् राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण अन्तर्क्रिरया कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् ।

‘सीमामा बस्ने सबै सीमा रक्षक हुन्, सीमा रक्षाका लागि हामी सबै जना उत्तिक्कै जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘सीमा सुरक्षाका लागि सबै सुरक्षा निकायले आपसमा समन्वय पनि गर्नुपर्छ ।’

सशस्त्र प्रहरीलाई आफ्नो भवन बनाउन देशैभरि जग्गाको अभाव रहेको बताउँदै महानिरीक्षक अर्यालले उद्योगी व्यवसायीहरुलाई जग्गा खोजिदिन आग्रह गरे । ‘सशस्त्र प्रहरीलाई देशैभरि आफ्नो भवन निर्माण गर्न जग्गा अभाव छ, म उद्योगी व्यवसायीहरुलाई सार्वजनिक जग्गा खोजिदिन आग्रह गर्छु,’ उनले भने, ‘सरकार पनि जग्गा खोज्नुस्, भवन बनाउने बजेट हामी दिन्छौं भन्छ ।’

सशस्त्र प्रहरीले एउटा बीओपी पोष्टदेखि अर्को बीओपी पोष्टसम्म सडक निर्माण गर्ने योजना रहेको पनि अर्यालले बताए । ‘एउटा बीओपीदेखि अर्को बीओपी सम्म सडक बनाउने हाम्रो योजना छ,’ उनले भने, ‘यसका लागि सरकार पनि सकारात्मक छ, बाटोले गर्दा स्थानीयलाई आवागमनमा सहजता हुने र विकास समेत हुन्छ ।’

सीमामा हुने राजश्व चुहावटको जिम्मेवारी कुनै एक संस्थाको नभई यसमा सबैको भागिदारी हुने बताउँदै उनले भने, ‘सबै निकायको लक्ष्य राजश्व चुहावट नियन्त्रण हो ।’ सशस्त्र प्रहरीले सीमामा बस्ने युवाहरुलाई सशस्त्र प्रहरीमा भर्नामा प्राथमिकता दिने बताउँदै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीलाई घर बनाउन वा जग्गा किन्न न्युनतम व्याजदरमा ऋण दिने तथा सीमामा बस्ने बालबालिकाहरुलाई छात्रवृत्ति दिने लगायतका कल्याणकारी कार्यक्रम ल्याउन लागेको बताए ।

तस्करीमा सशस्त्र प्रहरी संलग्न भए तत्कालै कारवाही गरी सेवाबाट हटाउने प्रतिबद्धता जनाउँदै उनले भने, ‘त्यस्तो पाइए हामीलाई तुरुन्तै खबर गर्नुस् ।’ सहभागीका तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरी गौतमले अवैध कारोबार बढेको र वैध कारोबार हतोत्साही हुँदै गएको बताए । उनले भारतको जिएसटीसँग नेपालको भन्सारको दर मिलाउन सके राजश्व चुहावट र तस्करी निरुत्साहित हुने बताए । गौतमले भन्सार मुल्यांकन पद्धतीले हुन्डी कारोबार पनि फस्टाउदै गएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको