जनकपुरधाम:भेपमार्फत तस्करी भएको सुनमा संलग्नता रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा ५ दिनमै रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतले गरेको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छाड्न स्वीकृति दिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ बताउँछन् ।

‘अदालतले पनि स्वास्थ्यलाई कारण देखाउँदै उपचार गराउन आदेश दिएको थियो’, उनले भने, ‘सीआईबीले हाजिरी जमानतमा छाड्न अनुमति मागेपछि स्वीकृति दिएका छौं ।’

प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सीआईबीले उन्मुक्ति दिएका महरालाई मुद्दा चलाउन १० वटा आधार रहेको प्रतिवेदनमा उल्लेख थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नयाँ टोलीले जाँच थालेको थियो ।

त्यस क्रममा निगरानीमा रहेका महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए । तर, ५ चैतमा आफूहरुलाई छाडेर महरा अर्कै गाडीमा गएको भन्दै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) ले प्रहरी हेडक्वार्टरमा खबर गरेका थिए ।

‘महरा अर्को गाडीमा चढेर हिँडेको झण्डै आधा घन्टापछि खबर आएको थियो’, यसबारे जानकार एक प्रहरी उच्च अधिकृत भन्छन्, ‘उनी कपिलवस्तुको सीमा क्षेत्र नजिक पुगिसकेका थिए, केहिवेर ढिला भएको भए भारत पुगिसक्ने थिए ।’

उनको दाबीमा, महराले भाग्ने प्रयास नगरेको भए तत्काल पक्राउ पर्ने थिएनन् । ‘उहाँले भागेरै जान खोज्नु भएपछि कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याउनु परेको हो’, ती अधिकृत भन्छन् ।

महरालाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि अनुमति लिन उनलाई सीआईबीले अदालत उपस्थित गराएर ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । महराको बयान लगायतको अनुसन्धान कार्य गर्नुपर्ने भएको भन्दै उनलाई हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले उनको स्वास्थ्य स्थितिलाई देखाउँदै आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको थियो ।

महराले आफूलाई टिबी, युरिक एसिड र प्रोस्टेटको विरामी भएकाले नियमित औषधि सेवन गरिरहेको जिकिर गरेका थिए । यसपछि महरा नर्भिक अस्पताल भर्ना भएका थिए भने उनको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो ।

बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन् । हाइड्रो पावर परियोजनाका कर्मचारीका लागि ल्याएको भेप जफत भएको भन्दै वाङले खबर गरेपछि आफूले तत्कालीन भन्सार प्रमुख प्रशासकलाई फोन गरेर बुझेको उनले बताएका छन् ।

‘कानून बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर मात्र भनेको हो’, उनले भनेका छन्, ‘वाङसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गथ्र्यो, सुनबारे निजसँग कुरै कुराकानी भएको थिएन ।’ उनको प्रारम्भिक बयान सकिएको र थप बुझ्नुपर्ने कुरा नभएको सीआईबीका एसपी होविन्द्र बोगटी बताउँछन् ।

‘अदालतले पनि उपचार जरुरी भएको भन्ने हिसाबले आदेश गरेको थियो, बयान सकिएको र प्रमाण नष्ट गर्नसक्ने आधारहरु नभएकाले बाहिरै राखेर थप अनुसन्धान अघि बढाउने निर्णय भएको हो’, उनले भने, ‘अनुसन्धान अधिकृतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मिल्ने अवस्थामा छाड्न सक्ने मुलुकी फौजदारी संहितामा व्यवस्था भएकैले यो सिफारिस गरेका थियौं ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको