जनकपुरधाम:उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको सङ्ख्या बढाउने बताएका छन् । शनिबार जनकपुर—जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरूलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताएका हुन् ।

उनले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै अब छिटो र छरितो रूपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाए । उनले रेल सेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरूको सम्बोधन गर्ने बताए ।

उनले भने, ‘भारत सरकारले, खास गरी भारत सरकारको माध्यमबाट निर्माण लिएका कम्पनीहरूसँग पनि कुरा गरेका छौँ । अरू सबै ठिक छन्, केही समस्या छन्, केही अतिक्रमण भएका छन् । त्यो अतिक्रमण हटाउनलाई हाम्रो नेपाल सरकारसँग करा गर्छौँ, नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नेछ ।

स्थानीय तहमा जयनगरतिरका कुरामा त सरकार सरकारबिच कुराकानी हुन्छ, रेल्वे विभागका जिएम लगायतको यसलाई हटाउन, पहल गर्नुपर्नेछ । त्यसमा मैले निर्देशन दिइसकेको छु । हाम्रा आन्तरिक कमी कमजोरी छन् भने त्यसलाई छलफलबाट समाधान गर्नेछौँ ।’

उनले थपे, ‘आम्दानी कम भयो, खर्च बढी भयो, त्यो स्वाभाविक छ । अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको हो । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ । सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार खास गरी भौतिक पूर्वाधार पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ ।

यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठुलो समस्या होइन । यो रेलको समय थपेर धेरै पटक आवतजावत हेरेर बढाउनेछौँ । रेल पनि थप्नेछौँ, यदि यात्रुको चाप बढी भयो भने । यात्रुको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ । सकभर यही आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध हुनेछ ।

यता जनकपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री महासेठले मालवाहक वगी जोड्नका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको