जनकपुरधाम:मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवलाई बिश्वासको मत लिनुपर्ने भएको छ । मुख्यमन्त्री यादवले सरकारबाट कांग्रेसलाई हटाएर गत सोमबार नेकपा एमालेलाई सहभागी गराउंदा कांग्रेसले शुक्रवार समर्थन फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्रीले अब होलीपछि विश्वासको मत लिने जनाइएको छ । मुख्यमन्त्री यादवले भने, ‘सरकार गठनको ३० दिनसम्म विश्वासको मत लिने प्रावधान रहेको छ । तर होली पर्वको मुखमा आएर कांग्रेसले समर्थन लिएकाले अब होलीपछि प्रदेश सभाबाट विश्वासको मत लिनेछु ।

हुनत कांगे्रसले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा परेको देखिदैन । एमालेले सरकारलाई समर्थन गरेपछि सरकारले सहज रुपमै बिश्वासको मत पुरा गर्नेछ । विश्वासको मतका लागि ५३ मतको समर्थन चाहिएकोमा अहिले मुख्यमन्त्री यादवसँग एमालेको २४, जसपाको १९, माओवादीको ९, लोसपाको ८ र एकीकृत समाजवादीको सात तथा नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको एक–एक सांसद गरी ६९ सांसदको मत रहेको छ ।

मुख्यमन्त्री यादवले पछिल्लो पटक गरेको मन्त्रिमण्डल पुनर्गठनमा एमालेलाई सरकारमा सहभागी गराउँदै कांग्रेसलाई हटाएका थिए । कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले पुनर्गठन गर्दै हटाएका थिए ।

मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार गठन भएदेखि नै कांग्रेसले समर्थन दिदै आएको थियो । एमालेसँगको गठबन्धनसहितको सरकार जसपा संसदीय दलका नेता यादवको नेतृत्वमा गठन भएको थियो । पहिलो पटक गठन भएको प्रदेश सरकारमा एमाले र जनमत पार्टीको सहभागिता रहेको थियो ।

त्यसपछि मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी भएको थियो ।सरकार भन्दा बाहिर रहेर पनि मुख्यमन्त्री यादवलाई समर्थन गरेको कांग्रेस भने झण्डै ९ महिना पूर्व सरकारमा सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको