जनकपुरधाम:मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिन होरी महोत्सवमा भएको होरैया प्रतिस्पर्धामा सहभागी कुल टिम मध्ये पोखरभिण्डा प्रथम, बलहा गोठ महिला टिम दोस्रो र कटैया तेस्रो भएका छन् । उनीहरुलाई ट्रफी, डम्फा सहित सम्मान गरिएको छ । प्रथम हुने टिमलाई ६ तोला चाँदीको मेडल, दोस्रो हुने टिमलाई ४ तोला चाँदीको मेडल र तेस्रो हुने टिमलाई ३ तोला चाँदीको मेडलले पुरस्कृत गरिएको. हो ।
त्यस्तै मिर्जापुर सर्लाही तथा थारु कल्याणकारणिी सभा सप्तरीलाई २५ सय नगद सहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
विभिन्न जिल्लाका हौरैया समूहको सहभागितामा होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
दोस्रो दिन सोमबार विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुती, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने महासचिव शैलेन्द्र मल्लिकले बताए ।
वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली काँग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधी प्रदान गरिएको थियो ।
त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो ।
२०७४ मा महामुर्खको उपाधी तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । त्यस्तै २०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।