जनकपुरधाम:मिथिलाको महाकुम्भ मानिने धार्मिक एवम् ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तर्गत सोमबार जनकपुरधाममा अन्तगृह परिक्रमा गरिदै छ ।

धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको परिक्रमाका यात्रीहरु जनकपुरधाम आइतबार आईपुगेका हुन् । परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमा परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई मध्यमा परिक्रमाका रुपमा मनाइँदै आएको हो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । आज बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको