जनकपुरधाम:वसन्त ऋतुमा मनाइने मनाइने होली पर्वको मिथिलाञ्चलमा विशिष्ट महत्व रहेको छ । मिथिलाञ्चलमा फागु पूर्णिमापछि र जनकपुरधाममा अन्तगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट यस भेगमा हर्षोल्लासपूर्वक होली पर्व मनाइने गरिन्छ । रंगहरुको उत्सव मानिने यो पर्व मिथिलाञ्चलमा पारम्परिक दृष्टिले दुई दिन मनाइन्छ । पहिलो दिन होलिका दहन गरिन्छ भने दोस्रो दिन एकआपसमा रंग अबिर दलेर होली पर्व मनाइन्छ । राग द्वेश र कटुता बिर्सेर छिमेकीको घर घरमा पुगेर रंग अबिर एकअर्कालाई रंग अबिर लगाउने गर्छन् ।
सामाजिक रुपमा खास गरेर हेर्ने हो भने गहुँ काटे पछाडी मनाउने पर्व हो होली । यसमा गहुँको पुआ, पुडी जस्ता परिकारहरु पकाउने प्रचलन छ । गहुँ अर्थात् गोधूम, गो को अर्थ ईन्द्रिय र धूम को अर्थ आनन्द, ईन्द्रिय–आनन्द । अर्थात् ईन्द्रियको आनन्दका लागि मनाउने पर्वको रुपमा पनि होलीलाई लिन सकिन्छ ।
सांस्कृतक रुपमा हेर्ने हो भने यो सौहार्द र प्रेमको उत्सवको पर्व हो । खास गरी मिथिलामा श्रीपञ्चमीकै दिन देखि रंग अवीर खेल्ने परम्परा छ । यती मात्र होईन श्रीपञ्चमीकै दिन देखि नै गाउँघरमा राति जोगिरा गीतहरु गाइने गरिन्छ । हुन त आज भोली यो परम्परा प्रायः लुप्त हुँदै गएको छ । होलीको दिन घर–परिवारका सदस्यहरु एक–आपसमा रंग लगाएर रमाउने गर्दछन् भने खास गरि मिथिलामा घर बाहिर महिलाहरु आप्mनो समूहमा र पुरुषहरु आप्mनो समूहमा रमाउने गर्दछन् ।
होलीको पूर्व सन्ध्यमा किन जलाइन्छ होलिका ?
होली पर्व होलिका दहन र भक्त प्रहलादको स्मरणमा मनाइने गरिन्छ । भगवान श्रीकृष्णको समयमा मात्रै यो पर्वमा रंग जोडिएको पाइन्छ । यही समयबाट यो पर्व उत्सवमय हिसाबले मनाउन थालिएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । मिथिलाञ्चलमा मनाइने होली पर्वको पूर्वसन्ध्यामा सबै जम्मा भएर होलिका दहन गर्ने गर्छन् ।
होली पर्व भक्त प्रह्लादको स्मरणमा किन मनाइन्छ यस पछाडी एक कथा छ । असुरराज हिरण्यकश्यपु विजय प्राप्तिका लागि तपस्यामा लीन थिए । अवसर पाएर देवताहरुले उनको राज्यमाथि कब्जा गरे । हिरण्यकश्यपुको गर्भवती पत्नीलाई देवर्षि नारद आफ्नो आश्रममा आश्रय दिए । देवर्षि नारद प्रतिदिन धर्म र विष्णु महिमाको विषयमा ज्ञान दिन्थे । सोही ज्ञान गर्भमा रहेका प्रह्लादले समेत ग्रहण गरे । पछी असुरराजले ब्रह्माको वरदान पाएर तीनै लोकमा विजय प्राप्त गरे । त्यसपछि उनको रानी पनि आई हालिन र प्रह्लादको जन्म त्यही भयो ।
बाल्यावस्थामा रहेका प्रह्लाद विष्णुभक्ति शुरू गरि दिए । यसबाट क्रोधित भएर हिरण्यकश्यपु आफ्नो गुरुलाई बोलाएर भने ‘यस्तो केही युक्ति निकाल्नुस मेरो छोरोले विष्णु नामको उच्चारण गर्न बन्द गरि दियोस । गुरुले धेरै प्रयास गरे तर असफल भए ।
त्यसपछि असुरराजले आफ्नो छोरोलाई हत्या गर्ने आदेश दिए । भक्त प्रह्लादलाई विष दिइयो, तलवारले प्रहार गरियो, हाथीबाट किच्न लगडाइयो, पर्वतबाट तल झारियो तर भगवानको कृपाले हरेक पटक उनी सुरक्षित रहे । अन्त्यमा हिरण्यकश्यपु अफ्नो बहिनी होलिकालाई बोलाएर प्रह्लाद संगै आगोमा बस्न भने । जसबाट प्रह्लाद भष्म भई हालोस ।
होलिकालाई वरदान थियो उसलाई अग्नीले कुनै प्रकारको हानी पुर्याउन सक्दैन । जबसम्म कुनै सद्वृत्तिबला मानवको अहित गर्ने नसोचोस । यद्यपि आफ्नो दाजुको कुरो मानेर होलिका भतीजो प्रह्लादलाई गोदीमा लिएर बसिन ।
प्रह्लादलाई अहित गर्ने प्रयासमा होलिका स्वयं जलेर भष्म भइन् । र प्रह्लाद मुस्कुराउँदै अग्नि बाहिर निस्के । सोही दिनदेखि होलीको पूर्व सन्ध्यमा होलिका (सम्मत) जलाइने गरिन्छ । सम्मत संगै गलत व्यवहार आचरण तथा गलत विचार जलेको मिथिलाञ्चलमा जनविश्वास रहेको छ ।
मिथिलाञ्चलको होलीमा संगितको महत्व
होली पर्व र संगीत बिच गहिरो सम्बन्ध रहेको छ । संगीत बिना मिथिलाञ्चलमा होलीको परिकल्पना नै गर्न सकिदैन । भनिन्छ होली पर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो । कुण्ठित विचार र मन भित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यमको रुपमा मिथिलाञ्चलमा गाइने जोगिरा गीतलाई लिइन्छ । जोगिरा गीतको माध्यमले समाजमा व्याप्त कुरितिहरुमाथी व्यङ्गयात्मक शैलीमा प्रहार गर्ने गरिन्छ ।
आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छोडेको जोगिरा गाउनेहरु बताउँछन् ।
संस्कृतिको सम्झनामात्र नभई त्यो प्रतिको समर्पण भाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने अबीर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घट्दै गईरहेको मिथिलाको लोकगीत जोगिरा गाउँदै आएका धनुषा हरिहरपुरका ८० वर्षीय नथुनी महतो बताउँछन् । उनी खिन्न हुँदै भने ‘टोलटोल वस्तीवस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छाडिएका छन् ।’ अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्ने महतोको चिन्ता छ ।