जनकपुरधाम:सरकारी विद्यालयमा खानेपानी र सरसफाईका लागि रहेको व्यवस्थामा सुधार गर्ने कार्यक्रम अन्तर्गत सामुदायिक सुधार केन्द्र (सिआईसी) ले जनकपुरधाम ९ स्थित जानकी माध्यमिक विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता (वाश) परियोजना संचालन गरेको छ ।
वल्र्ड शेयरको आर्थिक सहयोगमा सीआईसीले जानकी मावि र श्री कण्टिर झा मावि बभनगामा सहितका दुई विद्यालयमा सो परियोजना संचालनमा ल्याएको हो । परियोजना संचालन प्रक्रिया अघि बढाउन आइतवार विद्यालयका शिक्षकहरुसँग प्रारम्भिक बैठक मार्फत छलफल गरेको छ ।
बैठकमा सीआईसीका अध्यक्ष संजय साहले कार्यक्रमको उद्देश्य, कार्यक्रम अन्तर्गतका क्रियाकलाप र बजेटसहित परियोजनाको गतिविधि बारे विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र वडाध्यक्षलाई जानकारी छन् । सरकारी विद्यालयमा खानेपानीको स्वच्छता एवं सरससफाईमा भएका सुविधाहरु सुधार गर्ने वातावरण र सचेतना सहित विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउने परियोजनाको मूल उद्देश्य अध्यक्ष साहले जनाएको छ ।
बैठकमा प्रमुख अतिथि जनकपुरधाम वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले कार्यक्रमको प्रभावकारितका वडाबाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनले पालिकाबाट उपलब्ध परियोजनामा आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र समय समयमा निगरानी समेत गर्ने बताए ।
यस्तै विद्यालयका निमित प्रधानाध्यापक मनोज ठाकुरले यो कार्यक्रम मार्फत विद्यार्थीलाई दिइने अतिरिक्त क्रियाकलापको तिनीहरुको स्वास्थ्यका साथसाथै दैनिक व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।
सो कार्यक्रमका लागि सीआईसीद्वारा विद्यालयमा नर्स रिजु कठायतलाई विद्यालय अवधिभर काम गर्न स्वयंसेविकाको रुपमा नियुक्त गरिएको छ । ती स्वयंसेविकाले विद्यार्थीहरुको हेरचाह, स्वास्थ्य चेकजाँच र सरसफाईका लागि गर्नुपर्ने अतिरिक्त क्रियाकलाप बारे जानकारी गराउनेछ ।
परियोजना अन्तर्गत वर्कशप, पानी आपूर्ति सुविधाहरुको पुननिर्माण, कार्यशाला र एमपीएसी गठन, व्यवस्थित शौचालय निर्माण र त्यसमा सेनेटरी प्याडको व्यवस्था, आधारभूत स्वास्थ्य शिक्षा कार्यक्रम अनुसन्धान र विकास टोली गठन तथा संचालन, आधारभूत स्वास्थ्य शिक्षा सामाग्रीको उत्पादन र वितरण लगायतका क्रियाकलाप गरिनेछ ।
दुईवर्षसम्म चल्ने सो कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा निरिक्षणका पालिका नगरप्रमुखको अध्यक्षतामा परियोजना सल्लाहकार समिति गठन गरिने छ । परियोजनाको प्रभावकारिता मूल्यांकनका लागि पब्लिक अडिट समय समयमा गराइने परियोजनाका कोर्डिनेटर सतीश ठाकुरले बताएका छन । प्रशाससनिक खर्च सहित परियोजनाको कूल बजेट एक करोड ६८ लाख ९३ हजार ७६० रुपैया रहेको जनाइएको छ ।