सर्लाहीमा १० निरिक्षक निश्काषित
जनकपुरधाम:माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन अंग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ । पहिलो दिन मधेसको ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परिक्षा सम्पन्न भएको हो । परिक्षा केन्द्रहरुमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइल प्रतिबन्ध गरिएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरु केन्द्र बाहिर राखिएका थिए ।
यस वर्ष प्रदेशबाट ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् । धनुषाबाट १२ हजार २सय १४ परीक्षार्थी, सिराहाबाट १० हजार ९सय २३, महोत्तरीबाट ९ हजार ४सय ३१, सर्लाहीबाट १० हजार ८सय ९६, रौतहटबाट ९ हजार ४सय ६९, बाराबाट ९ हजार ४सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३सय २३ परीक्षार्थी सहभागी भएका छन् ।
यता सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् ।
बिहीबारदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
यसैबिच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए । “परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ”, उनले भने, “हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ ।”
एक छात्रले प्रहरी हिरासतबाटै परीक्षा दिए
यस्तै सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन् । बागमती नगरपालिका–२ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएको इलाका प्रहरी कार्यालयका प्रमुख अनिलराज गिरीले जानकारी दिए ।
आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका लागि हिरासतमै परीक्षाको व्यवस्था मिलाइको प्रहरीले जनाएको छ ।