काठमाडौं:काठमाडौंमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । तर, नेपालमा पछिल्ला तीन महिनायता फाट्टफुट्ट कोरोना संक्रमित देखिइरहेकाले नआत्तिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हाल देशभर कोरोनाका १३ सक्रिय संक्रमित रहेका जानकारी दिए । उनीहरू सबै काठमाडौंमै रहेका उनको भनाइ छ ।

“भारतमा जबदेखि जेएन.१ देखियो, नेपालमा पनि फाट्टफुट्ट संक्रमित देखिइरहेका छन्,” उनले बाह्रखरीसित भने, “यो नियमित केस हो, आउटब्रेक होइन । त्यसैले आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”

भारतमा डिसेम्बर अन्तिम सातादेखि ओमिक्रोन भेरियन्टको उपप्रजाति जेएन.१ फैलिएको थियो । उनका अनुसार, भारतसँगको सीमा क्षेत्रमा डिसेम्बर अन्तिम सातायता दैनिक चारदेखि १५ जनासम्ममा कोरोना संक्रमण पुष्टि भइरहेको थियो ।

पछिल्लो साता भने काठमाडौंमा १३ सक्रिय संक्रमित भेटिएका हुन् । अरू स्थानमा संक्रमित नरहेका उनले बताए । वृद्धवृद्धा र दीर्घरोगी सधैँ जोखिममा रहने भन्दै उनले सजग रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको