जनकपुरधाम:उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मधेसको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनका लागि ३ स्थानमा विशिष्टकृत अस्पतालको निर्माण गर्न लागिएको जानकारी दिएका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालमा अमेरिकी सहयोगमा निर्माण गरिएको अत्याधुनिक बर्थिंग सेन्टरको उदघाटन गर्दै मन्त्री यादवले सरकारले निकट भविष्यमै मधेसको ३ स्थानमा विशिष्टकृत सेवा सहितको अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मधेसको जनकपुरधाम, वीरगञ्ज र राजविराजमा अस्पताल निर्माण गरिने बताए ।

उपप्रधानमन्त्री यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत अस्पतालहरु आएपछि केही सुधार आएपनि आशा गरे अनुरुप सुधार नभएको बताए । यसमा सुधार ल्याउनका लागि चिकित्सक मात्रै नभई आ–आफ्नो क्षेत्रबाट सबैले समर्पण देखाउनु आवश्यक रहेको उनको भनाई थियो ।

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरिय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए ।

उनले भने “सरकारले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलाबासीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।“

मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर , राजविराज र बिरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भै रहेकोे उल्लेख्य गरे ।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत भै रहेको बिकास निर्माणको चर्चा समेत गरे ।

युएस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिव ६ करोडको लागतमा निर्मित ७५ बेड्को बर्थिङ्ग सेन्टरको सिलान्यास समेत २०१८ नोभेम्बर १९मा उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।

प्रादेशिक अस्पतालमा वर्षेणी १२ हजार बढी प्रसुति हुँदै आएकोमा बर्थिंग सेन्टर निर्माणले सुरक्षित प्रसुति सेवा प्रदान गर्न सहयोगी साबित हुने चिकित्सकहरुले बताए । यसका साथै मातृ मृत्युदर घटाउन समेत मद्दत पुग्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा मधेसको स्वास्थ्य मन्त्री शत्रुध्न सिंह कोइरी, स्वास्थ्य राज्य मन्त्री केशव राय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेल, नेपालका लागि अमेरिकी राजदुत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको