जनकपुरधाम:एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको उनको भनाइ छ ।

उनका अनुसार प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने छ । शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको बताइएको छ । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको थियो ।

कसरी बाहिरियो प्रश्नपत्र

पहिलो दिन अंग्रेजी विषयको परीक्षा सुरु भएलगत्तै मधेशका विभिन्न परीक्षा केन्द्रहरूबाट प्रश्न पत्र बाहिरिएको छ ।

अंग्रेजी विषयको प्रश्न पत्र सामाजिक सञ्जाल फेसबुकहरूमा धेरैले पोस्ट गरेका थिए । दोस्रो दिन नेपाली विषयको प्रश्न पत्र पनि परीक्षा सुरु भएको १० मिनेट नबित्दै सामाजिक सञ्जालमा छ्याछ्याप्ती देखियो । कतिले सिरहा त कतिले रौतहटबाट प्रश्न पत्र बाहिरिएको उल्लेख गरेका छन् ।

बाहिरिएको प्रश्न पत्र सिरहाबाट सञ्चालित दावानल डटकमलगायतका सञ्चारमाध्यमले प्रकाशित ग¥यो । दावानलका सम्पादक अर्जुन थपलिया भन्छन्, ‘गोलबजारको विभिन्न परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेटमै प्रश्न पत्र हामी कहाँ आइपुग्यो ।’

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रश्न पत्र सामाजिक सञ्जालमा देखे पनि कहाँबाट बाहिरिएको कुरा यकिन नभएको बताए । उनले भने, ‘सिरहाबाटै प्रश्न पत्र बाहिरियो भन्ने कुरा आएको छ । यस विषयमा बुझ्दैछु ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रश्न पत्र बाहिरिएको कुरा आधिकारिक रूपमा जानकारी नआएको बताए । उनले भने, ‘कर्जन्हामा एकजना नक्कली परीक्षार्थी हामीले पक्राउ गरेका छौं । प्रश्न पत्र कहाँबाट बाहिरिएको थाहा भएन । सामाजिक सञ्जाल त तातिसक्यो । भरिफाई गर्न बाँकी छ ।’

औरहीस्थित श्री सुन्दर माध्यमिक विद्यालयका केन्द्राध्यक्ष विवेक यादवले परीक्षा केन्द्रभित्र परीक्षार्थी र गार्डलाई मोबाइल बोक्न नहुने बताए । उनले पहिलो दिन १४ जना परीक्षार्थीबाट मोबाइल खोसेको बताए । उनले भने, ‘प्रश्न पत्र मोबाइलमार्फत् आउट हुनसक्छ । आज खोसेको मोबाइल आजै दियौँ भने फेरी भोली लिएर आउँछन् । त्यसैले परीक्षा सकेको अन्तिम दिन मात्र मोबाइल फिर्ता दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको