
जनकपुरधाम:नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्र सेनानी मथुरा प्रसाद उपाध्यायको २७ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा शुक्रवार विहान जनकपुरधामको जानकी वृद्वाश्रममा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ ले फलफुल सहितको राहत समाग्री वितरण गरेको छ ।
वडाका सभापति संजय प्रसाद साहको अगुवाईमा पुर्वमन्त्री तथा प्रदेश सांसद राम सरोज यादव सहितको विशेष उपस्थितीमा वृद्वाश्रमकी आमाहरुलाई राहत समाग्री वितरण गर्दै वृद्वाश्रमको वृहत हित, संरक्षण र विकासका लागि छलफल गरिएको छ । सो अवसरमा पुर्वमन्त्री यादवले जनकपुरधामको २५ वटै वडाबाट प्रतिनिधित्व गर्ने यस्ता योद्वाहरुको स्मरणमा विभिन्न कार्यक्रम गर्न एक समिति नै बनाएर अगाडि बढनुपर्ने बताए ।
त्यस्तै जनकपुरधामको वडा नं. ११ स्थित मनकामना सिद्व हनुमान मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वक्ताहरुले स्व. उपाध्यायले २०२८ साल देखि २०३९ साल सम्म जनकपुरको नगरसभापतिको रुपमा पार्टीमा खेलेको भुमिका र त्यसबेलाको संगठन विस्तारको प्रशंसा गर्दै अहिले कांग्रेस भगवान भरोसे चलिरहेकोमा चिन्ता व्इक्त गरे ।
जनकपुरधामका वर्तमान नगरसभापति तथा मेयर मनोज कुमार साहले जनप्रतिनिधी र कांग्रेसका वडा समिति बिच कुनै पनि समन्वय हुन नसक्दा संगठन सुस्त भएको बताए । एकआध वडा बाहेक कुनै पनि वडामा जनप्रतिनिधी र पार्टी बिच समन्वय हुन नसकेको उनले बताए ।