जनकपुरधाम:स्थानीय तहहरुले सडक बत्ती बालेको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले भुक्तानी गर्न पुन ताकेता गरेको छ ।

प्राधिरकणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै तत्काल तिर्न ताकेता गरेको छ । सडक वत्तीको महसुलका विषयमा लामो समयदेखि स्थानीय सरकार र प्राधिकरणबीच बिवाद हुँदै आएको छ ।

प्राधिकरणले स्वीकृति नलिई सडक बत्ती जडान गरेको दावी गर्दै यो कार्य प्राधिकरण ऐनको विपरित रहेको समेत भनेको छ । ’देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्नरबुझाउन बाँकी रहेको छ,’ प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ’पत्राचारमार्फत जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ ।

बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ।’

यसैबीच नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२-७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको