माओवादीलाई राजनीतिक संकट
जनकपुरधाम:नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलामको लाकुरी चौतारामा सभा गरेरै उम्मेदवार घोषणा गरेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि आगामी १५ वैशाखमा हुने इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरु त्यहाँ पुगेका थिए ।
४ मंसिर २०७९ मा सम्पन्न आमचुनावको नतिजा हेर्दा यो क्षेत्रमा रास्वपाको प्रभाव कमजोर छ । नेकपा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर लगातार पाँचौपटक प्रतिनिधिसभा सदस्य जित्दा रास्वपाका प्रकाश सापकोटाले जम्मा १३ सय ८० मत ल्याएका थिए । नेम्वाङसँग झिनो अन्तरले पराजित नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।
अर्थात् क्रम संख्यामा तेस्रो भएपनि रास्वपाका उम्मेदवारले जमानत जोगाउन सकेन । तर रास्वपाको पार्टी मत यो क्षेत्रमा तीन गुणा बढी देखिन्छ । रास्वपाले समानुपातिकतर्फ इलाम–२ मा ४ हजार ६८६ मत पाएको छ, जुन माओवादी केन्द्र (५ हजार १५३ मत) हाराहारी हो । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले सबभन्दा धेरै २६ हजार ५६३ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।
यो उपनिर्वाचनलाई त रास्वपाले प्रतिष्ठाकै विषय बनाएको छ । माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई ठूलै प्रयासबाट घण्टी चिह्नको उम्मेदवार बनाउनु, पार्टीभित्रका अरु आकांक्षी रोक्न सक्नु र मनोनयन दर्ता नहुँदै शीर्ष नेताहरु दोस्रोपटक इलाम पुग्नुले रास्वपाले लगाइरहेको जोडबल बुझ्न सकिन्छ ।
यो क्षेत्रको बलियो शक्ति एमालेले सुवास नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । सुवासको निधनपछि रिक्त उपनिर्वाचनमा उनकै युवक छोरा सुहाङ उम्मेदवार बनाउँदा पार्टी मतबाहेकका मत पनि तान्न सकिने एमालेको बुझाइ छ ।
त्यही बुझाइका कारण अरु पार्टीलाई उछिन्दै गत ११ चैतमै सुहाङलाई टिकट दिएको एमाले पंक्ति उपनिर्वाचनमा होमिसकेको छ । अहिले सुहाङसहित एमाले नेताहरु घरदैलो, सानासभा र छलफलमा केन्द्रित देखिन्छ ।
विगतमा एमालेसँग मुख्य प्रतिस्पर्धी रहँदै आएको कांग्रेसभित्र टिकटको लडाइँ चलिरहेको छ । कांग्रेस नेताहरुका अनुसार, आजभोलि नै उम्मेदवार टुंग्याउने गरी शीर्ष नेताहरु छलफलमा छन् । एमालेका सुवास नेम्वाङसँग पालैपालो चुनाव लडेका डम्बरबहादुर खड्का, केशव थापासहित भेषराज आचार्य, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ टिकटका आकांक्षी छन् ।
उम्मेदवार टुंग्याउन ढिलै भएपनि प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेस आफ्नो शक्तिसहित उपनिर्वाचनमा होमिने निश्चित छ ।
राप्रपा, नेकपा एकीकृत समाजवादी र पहिचानवादीहरु उम्मेदवार टुंग्याएरै मैदानमा उत्रिइसकेको छ । राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई र पहिचान पक्षधरहरुले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाएको छ ।
उपनिर्वाचनको यो प्रतिस्पर्धामा सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्र भने अहिलेसम्म अलमलमै देखिन्छ । स्थानीय र प्रदेश तहका नेताहरू पार्टीको उम्मेदवारी रहन्छ वा रहँदैन भन्नेमा प्रष्ट छैनन् ।
यस्तो अलमलको कारण भने विगतका चुनावहरुमा माओवादीले सत्ता साझेदार दलसँग सहकार्यमा उम्मेदवार टुंग्याउने गरेको नजीर हो । गत वर्ष १० वैशाखमा सम्पन्न तनहुँ–१, चितवन–२ र बारा–२ मा माओवादीले उम्मेदवारी दिएको थिएन ।
त्यसअघि २०७४ र २०७९ मा सम्पन्न तीनै तहको चुनावमा माओवादीले सत्ता साझेदार दलहरुसँग संयुक्त उम्मेदवारी दिएको थियो । त्यही बुझाइ यसपटक पनि माओवादी नेता तथा कार्यकर्तामा थियो ।
‘विगतका चुनाव गठबन्धनबाट लड्ने अवस्था बन्यो । त्यसैले यसपटक पनि साझा उम्मेदवार हुँदा हाम्रो पार्टीले पाउँदैन कि भन्ने नेता–कार्यकर्तामा परेको थियो’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘तर अहिले आफ्नै उम्मेदवार हुने सम्भावना छ ।’ ती नेताका अनुसार, इलाम–२ मा सुवास नेम्वाङले जितेको क्षेत्र भएकाले एमालेले नै टिकट पाउने बुझाइमा माओवादी नेताहरु पनि प्रष्ट थियो ।
एमालेले सल्लाह नै नगरी उम्मेदवारबारे निर्णय लिएको भन्दै एकीकृत समाजवादीले १४ चैतमा दुवै क्षेत्रमा (इलाम–२ र बझाङ क) उम्मेदवार टुंग्यायो । इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेर सत्तारुढभित्र समेत प्रतिस्पर्धाको सन्देश दियो ।
गएको चुनावमा इलाम–२ मा प्रत्यक्षतर्फ कांग्रेसकै उम्मेदवारलाई मत दिएको एकीकृत समाजवादीले समानुपातिक मत जम्मा ५८६ ल्याएको छ । तर बझाङ (क) मा एकीकृत समाजवादीको मत उल्लेख्य छ । त्यसैले सत्तारुढ दलहरुको बैठकमा समेत इलाम–२ छोड्ने, तर बझाङमा आफूले पाउनुपर्ने दाबी गरेको थियो ।
२०७९ को चुनावमा बझाङ (क) मा माओवादी र एकीकृत समाजवादीले कांग्रेसकै उम्मेदवारलाई मत दिएपनि समानुपातिकतर्फ एकीकृत समाजवादीले ७ हजार ८३३ मत ल्याएको थियो भने माओवादीको समानुपातिक मत ८ हजार १५ छ । समानुपातिकतर्फ एकीकृत समाजवादीले पाएको यो मत देशैभरमै राम्रो मध्ये एक हो । त्यसैले दाबी स्वभाविक देखिन्छ । तर यो क्षेत्रमा २२ हजार २०४ समानुपातिक मतसहित सबभन्दा ठूलो शक्ति रहेको एमाले छोड्न तयार छैन ।
दुवै ठाउँमा उम्मेदवार टुंग्याएर एमाले चुनावमा होमिने, अनि एकीकृत समाजवादीले बझाङ पाउनुपर्ने अडान लिँदा अप्ठ्यारोमा भने माओवादी नै परेको छ । उल्टै एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले माओवादी सहितका दलहरुसँग गठबन्धन नभएर सत्ता समीकरण मात्र बनेको टिप्पणी गरिरहेका छन् । अर्थात् गठबन्धनभित्रै आपसी प्रतिस्पर्धा गर्न पनि एमाले तयार देखिन्छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले माओवादीले साथ दिनुपर्ने सार्वजनिक अपिल गरे । ओलीको भनाइ थियो, ‘मलाई विश्वास छ, माओवादीले अन्तिममा हामीलाई समर्थन गर्छ, किनभने कांग्रेसलाई जिताउन मिल्दैन ।’ शीर्ष सहमति नगरेर सार्वजनिक रुपमा यतिको हलुका टिप्पणी गर्नुको अर्थ अध्यक्ष ओली माओवादीबाट इलाम र बझाङमा रहनु भन्नेमा प्रष्ट देखिनु हो ।
सत्ता साझेदार दलहरुले उम्मेदवार टुंग्याइसकेपछि बल्ल (गत १२ चैतमा) माओवादी सचिवालय बैठकले उम्मेदवारी दिने निर्णय गरेको थियो । यस्तो निर्णय भएको भोलिपल्टै माओवादी प्रदेश कमिटीले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस ग¥यो ।
तर माओवादीको केन्द्रीय नेतृत्वले उल्टै यो नामबारे छलफल गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । ‘एक जनाको नाममा सर्वसहमत गर्ने गरी छलफल गर्नू भनेर पार्टी केन्द्रले प्रदेश कमिटीलाई भनेको छ’, माओवादी प्रदेश अध्यक्ष हर्क लिम्बु (मिक्सो) ले भने ।
गत १५ चैतमा राजधानीमै आयोजित एक कार्यक्रममा प्रचण्डले फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने बताएका थिए । ‘‘मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो मैले अरुलाई भनेको होइन, है । त्यो मेरै लागि भनेको हो’, प्रचण्डले भनेका थिए । विगतमा उनले उथलपुथल शब्द सत्ता फेर्न प्रयोग गरेकाले प्रचण्ड एमालेसँग पनि सजिलो परिस्थितिमा नरहेको अनुमान लगाउन सकिन्छ ।
सँगै, उपनिर्वाचनबारे माओवादीभित्र परेको अप्ठ्यारोलाई पनि प्रचण्डको अभिव्यक्तिसँग जोडेर हेर्न सकिन्छ । किनकि सत्ता टिकाउन प्रचण्ड एमालेलाई चिढ्याएर जाने अवस्थामा छैनन् भने इलाम–२ मा माओवादीको शक्ति निरन्तर ओरालो लागिरहेको छ ।
यो क्षेत्रबाट प्रतिनिधिसभामा अहिलेसम्म कुनै पनि चुनाव जित्न नसकेको माओवादीले दश वर्षयता उम्मेदवारी नै दिएको छैन । २०७४ मा सुवास नेम्वाङ र २०७९ को चुनावमा कांग्रेसका डम्बर खड्कालाई समर्थन गरेको थियो ।
गत वर्षको आमचुनावमा प्रदेशसभातर्फ भने इलाम–२ (ख) मा हर्क लावती माओवादीका उम्मेदवार थिए । तर कांग्रेससहित पाँच दलीय गठबन्धनको उम्मेदवार हुँदा पनि उनले ११ हजार १६७ मत मात्रै ल्याए । एक्लै चुनाव लडेका एमालेका राम रानाले १३ हजार ७५४ मत ल्याएर लावतीलाई हराएका थिए ।
जबकी इलाम–२ (क) बाट कांग्रेसका उम्मेदवारले जिते । कांग्रेसका गोविन्द गिरीले गठबन्धनकै बलमा १६ हजार ६५८ मत ल्याएर जित्दा एमालेका गणेश बरालले १५ हजार ४४७ मतमा सीमित भएका थिए ।
इलामको यो क्षेत्रबाट माओवादीले एकपटक प्रदेशसभा सदस्य जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धि हो । २०७४ मा एमालेसँग गठबन्धन हुँदा इलाम–२ (ख) बाट माओवादीका धिरेन्द्र शर्माले प्रदेशसभा सदस्य जितेका थिए । शर्माले १४ हजार ७१६ मत ल्याएर जित्दा कांग्रेसका खगेन्द्र देवान ११ हजार ०६५ मत ल्याएर पराजित भएका थिए ।
तर २०७९ को तीनै तहको चुनावमा माओवादी फेरि कांग्रेससँगै गठबन्धन गर्न पुग्यो, निराशाजनक नतिजा खेप्नु प¥यो । कांग्रेस सहितको साझा उम्मेदवार हुँदा पनि प्रदेशसभादेखि स्थानीय पालिकाको नेतृत्वमा समेत माओवादीले जित्न सकेन ।
चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम र देउमाई गाउँपालिका, इलाम नगरपालिका (१० नम्बर वडा बाहेक) अनि माई नगरपालिकाको वडा नम्बर ६ देखि ८ सम्म पर्ने यो क्षेत्रमा माओवादीको कुनै पनि पालिकामा नेतृत्व छैन ।
इलाम नगरपालिका र चुलाचुली गाउँपालिकाको प्रमुख कांग्रेसले जितेको छ भने माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाइ नगरपालिका र माइ नगरपालिकाको प्रमुख एमालेले जितेको छ ।
यो निर्वाचन क्षेत्रमा ४१ वटा वडा छ, जसमध्ये माओवादीले एउटा मात्रै वडाध्यक्ष जितेको छ । माङसेबुङ गाउँपालिका–३ का लक्षुमन राई मात्रै माओवादीबाट जितेका एक्ला वडाध्यक्ष हुन् ।