जनकपुरधाम:नेपाल आयात हुने विद्युतको महसुल भारतले बढाइएको पाइएको छ । नेपाल र भारतबीच पावर एक्सचेन्ज कमिटीको बैठकमा मुल्य बढाउने निर्णय भएको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बैठकका लागि दिल्ली पुगेको थियो । उक्त बैठकमा मूल्य बढाउन भारतले गरेको प्रस्तावमा सहमति भएको पाइएको छ । बैठक फागुन २८ गते बसेको थियो ।
नयाँ बढेको मूल्य अप्रिल १ देखि अर्थात चैत १९ गते सोमबारदेखि लागु हुनेछ । अहिले भारतबाट ३३ केभीबाट आयात हुने बिजुली ८.२८ भारु (१३.२४८ रुपैयाँ) प्रतियुनिट थियो । अब ८.६५ रुपैयाँ भारु १३.८४ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ । १३२ केभीबाट आयात हुने बिजुली ७.६४ रुपैयाँ भारु (१२.२२४ रुपैयाँ) प्रतियुनिट थियो । अब ७.९८ भारु अर्थात १२.७७ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ ।
नेपालले भारतबाट ६०० मेगावाटसम्म विद्युत् आयात गरेर व्यवस्थापन गरिरहेको छ । केहि दिन पहिले मात्रै भारतबाट आयात हुने बिजुलीको इजाजत तीन महिनाका लागि नवीकरण भएको छ । प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट आयात गर्न अनुमति दिएको हो ।
नेपालले भारतबाट ५ वर्षका लागि विद्युत् आयात गर्ने सम्झौता गरेको छ । तर यो सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । सम्झौताको अवधि मार्च ३१ अर्थात चैत १८ गते आइतबार सकिन लागेको थियो । भारतले सोलार आवर आयातका लागि तीन महिनाको समय थपिदिएको हो । एक वर्षका लागि नवीकरण हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्रै सम्झौता नवीकरण गरेको छ ।