जनकपुरधाम:उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्ने तर्फ केन्द्रित हुनु आवश्यक रहेको बताएका छन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री महासेठले पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा हरेक क्षेत्रबाट पर्यटन क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए । प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेस रहेकाले मधेसमा समेत पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई थियो ।
उपप्रधानमन्त्री महासेठले जनकपुरधाममा माता सीताको जन्म, ऋषि मुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी तथा ७२ कुण्डको शहर रहेकाले यस ठाउँको सौन्दर्यीकरण तथा विकासका लागि बाह्य चक्रपथको डिपिआर आफू यस अघि भौतिक मन्त्री भएकै बेलामा भई सकेकाले सो को निर्माण कार्य छिट्टै नै अगाडी बढाइने जानकारी दिए ।
उनले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाएकाले चाडै रेल सञ्चालन हुने विश्वास पर्यटन व्यवसायीहरूलाई दिलाए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु दीपेन्द्र ठाकुर, रामअशिष यादव, शारदा थापा, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, होटल व्यवसायी विजय झुनझुनवाला, महासङ्घका महासचिव मोहन शर्मा, नेपाल होटेल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
महासङ्घले उत्कृष्ट सेवा प्रदान गरेवापत महोत्तरी होटल व्यवसायी सङ्घलाई सम्मानपत्र सहित सम्मान गरेको थियो ।
निर्माणाधिन योजना समयमै सम्पन्न गर्न निर्देशन
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि सरकार तत्पर रहेको बताएका छन् ।
आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा निर्माणधिन योजनाहरुको काम सम्पन्न गर्ने तर्फ सरकार लागि परेको बताए ।
उनले सरकारले निर्माणाधिन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए ।
उनले पुल, सडक लगायतका निर्माणाधिन आयोजनाहरू पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अगाडी बढाउने रणनीति सरकारको रहेको बताए ।
आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न समेत निर्देशन दिए । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनैपनि कदम चाल्न सक्ने चेतावनी समेत दिए ।
उनले भने, ‘सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दैछ, कमला पुललाई मधेसको मुख्य पुलका रूपमा लिएका छौ ं। यो सिरहा र धनुषा जोड्ने पुल हो । अब पहिला गल्ती भएको कुरा सच्याउन भनेका छौं। असारभित्र सम्पन्न गर्नेगरी अन्तिम निर्देशन गरेका छौं ।’
निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए ।