जनकपुरधाम:एसइईअन्तर्गत आइतबार सप्तरी जिल्लामा ७१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । अनिवार्य गणित विषयको परीक्षाका क्रममा मर्यादाविपरीत कार्य गरेको आरोपमा विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको आइतबारको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।
राजविराजस्थित हयाप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८,राजदेवी मावि परीक्षा केन्द्रबाट १२,पवि माविबाट १० जना, केअ माविबाट ७ जना,नरेन्द्र मेमोरियल मावि परीक्षा केन्द्रबाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको मण्डलले जनाए । परीक्षा मर्यादा र आचारसंहिताविपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ ।
यस्तै परिक्षा मर्यादाविपरीत कार्य गरेको आरोपमा राजविराजस्थित केअ मावि परीक्षा केन्द्रबाट एक जना कार्यालय सहयोगीलाई निष्काशन गरिएको छ ।