जनकपुरधाम:वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटो मोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँच पास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँच पास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए । ‘यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँच पास गराउने प्रवृत्ति छ,’ उनले भने ।

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँच पास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसै गरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ ।

अटोमोबिल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँच पास नभई थन्किरहेको बताउँछन् । ‘पहिला वीरगञ्ज भन्सार कार्यालयमा झन्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँच पास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ’, उनले भने, ‘आर्थिक मन्दी र बैङ्क तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लगानी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।’

पूर्व अध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि बिस्तारै छुटाउने नीति लिँदै आएको बताए । प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँच पास नगरीकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको