जनकपुरधाम:नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतका व्यक्तिहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा नाम मात्रको टेन्डर आह्वान गरी स्मार्ट मीटरसहितका विभिन्न सामग्री बजार मूल्यभन्दा ६ गुणा महंगोमा खरिद गरेको आरोपमा छानबिन थालेको छ ।

गत वर्ष माघ २९ गते अख्तियारमा परेको उजुरीमा घिसिङका अलावा प्राधिकरणका उपकार्यकारी निर्देशकहरूको नाम समेत उल्लेख छ ।

अख्तियारमा परेको सी–०४११६० नम्बरको उजुरीमा भनिएको छ, ’नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक कुलमान घिसिङ एवं उपकार्यकारी निर्देशकहरू समेतको मिलेमतोमा नाम मात्रको टेन्डर आह्वान गरी विद्युतीकरण, कार्यालय समान एवं विद्युतीय सामानहरू प्रचलित बजार मूल्यभन्दा ६ गुणा बढी मूल्यमा खरिद गरिएको विषयमा छानबिन गरिपाऊँ ।’

उक्त उजुरीमाथि तत्काल कारबाही अगाडि बढाएको अख्तियारले उजुरीमा किटान भएका विषयहरूमा छानबिन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई पत्र लेखेको थियो ।

’मन्त्रालयको रायसहितको छानबिन प्रतिवेदन १५ (पन्ध्र) दिनभित्र आयोगको महाशाखा नं. ५ मा उपलब्ध गराउनुहुन मिति २०७९-११-१० को निर्णयानुसार अनुरोध छ,’ अख्तियारले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले मन्त्रालयबाट प्राप्त प्रतिवेदन अध्यन गरी यस विषयमा थप छानबिन भइरहेको बताएका छन् । उनले यो उजुरी छानबिनकै क्रममा छ भने, ’अनुसन्धानको क्रममा रहेको विषय भएकाले थप खुलाउन मिल्दैन ।’ तर, छानबिन गरेर अख्तियारमा बुझाएको भनिएको प्रतिवेदनबारे मन्त्रालयकै उच्च अधिकारीहरूले अनभिज्ञता प्रकट गरेका छन् ।

स्रोतका अनुसार स्मार्ट मिटर र अन्य विद्युतीय सामग्री खरिदका क्रममा अयोग्य कम्पनीलाई टेन्डर प्रक्रियामा सहभागी गराई बजार मूल्यभन्दा ६ गुणासम्म महंगोमा सामग्री खरिद गरेको आरोपमा घिसिङलगायतमाथि अख्तियारले छानबिन गरिरहेको हो । गत २०७९ वैशाख २३ गते (६ मे, २०२२) मा विद्युत प्राधिकरणले पहिलोपटक १ लाख ५० हजारवटा स्मार्ट मिटर खरिद गर्ने भन्दै सार्वजनिक टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा ४ वटा कम्पनीले भाग लिएका थिए ।

आवेदन दिने ४ वटै कम्पनी (नुरी फ्लेक्स कोरिया, निङ्बो सान्जिङ मेडिकल एन्ड इलेक्ट्रिक को–लिमिटेड चाइना, विज्डम इलेक्ट्रिस को–लिमिटेड चाइना र हेजिङ इलेक्ट्रिकल को–लिमिटेड चाइना)को प्राविधिक योग्यता तथा मापदण्ड नपुगेको भन्दै प्राधिकरणले सबैको आवेदन खारेज गरिदियो ।

त्यसलगत्तै प्राधिकरणले पुन: दोस्रोपटक टेन्डर आह्वान ग¥यो । यसपटक भने तीनै पुराना ४ कम्पनीसहित थप २ कम्पनीले आवेदन दिए । आवेदन दिएका थप दुई कम्पनी थिए, सान्जेन काफिया टेक्नोलोजी को–लिमिटेड चाइना र ईआई स्वीडे इन्टेलिजेन्स कायरो इजिप्ट ।

दोस्रोपटक आवेदन दिएका ६ मध्ये प्राधिकरणले १२ भदौ २०७९ मा ३ वटा कम्पनीलाई शर्ट लिस्टेड ग¥यो । ती कम्पनीमध्ये निङ्बो सान्जिङ मेडिकल र वीजडम एक्सजे जेबी पहिल्यै अयोग्य घोषित भइसकेका कम्पनी थिए । शर्ट लिस्टेड हुनेमध्ये तेस्रो कम्पनी सान्जेन काफिया टेक्नोलोजी थियो । तर, प्राधिकरणले पहिल्यै अस्वीकृत भएको कम्पनी निङ्बो सान्जिङ मेडिकल एन्ड इलेक्ट्रिक को–लिमिटेडलाई नै छनोट ग¥यो ।

गत साल असोज २६ गते एक सूचना जारी गर्दै प्राधिकरणले स्मार्ट मिटर खरिदका लागि निङ्बो सान्जिङलाई छनोट गरिएको बताएको थियो । त्यतिबेलै टेन्डर पाउने कम्पनीको योग्यता अनुभवलगायत सबै कागजात झुटो भएको आरोप लागेको थियो ।

प्राधिकरणका एक कर्मचारीले भने, ’उहाँ (घिसिङ)कै स्वार्थमा आफ्नै नक्कली कम्पनीलाई छनोट गरिएको चर्चा त्यतिबेला चलेको थियो । अहिले ती स्मार्ट मिटरमा धेरै गुनासो आउने गरेको छ । त्यति धेरै पैसा तिरेर ल्याएका अधिकांश मिटरहरू २ वर्ष नबित्दै कबाडी भएका छन् ।’

त्यतिबेला निङ्बो सान्जिङ कम्पनीले १ लाख ५० हजार स्मार्ट मिटर खरिदका लागि जम्मा १ करोड ७८ लाख २१ हजार ४०० डलर (हालको सटहीदर अनुसार २ अर्ब, २३ करोड, ७९ लाख, ५१ हजार ३३०)को ठेक्का पाएको थियो ।

यस आधारमा एक स्मार्ट मिटरलाई लगभग १५ हजार परेको थियो, जबकि उक्त टेन्डरमा आह्वान गरिएको गुणस्तर (थ्री फेज, फोर वायर इनर्जी मिटर) बराबरको मिटर अहिले नेपाली बजारमा ६ देखि ७ हजार रुपैयाँमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको