प्रहरीले झन पीडित बनाएको आरोप
जनकपुरधाम:कुनै पनि अभिभावकको सपना हुन्छ उसको छोराछोरीको भविष्य सुखमय र सुरक्षित होस । त्यसमाथी छोरीका लागि त झनै बढी चिन्ता हुन्छ । छोरीको विवाह पनि आमाबुवाका लागि ठूलो यज्ञ जस्तै हुन्छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ इनर्वाका राजेश ठाकुरले छोरीको विवाह धूमधामका साथ गर्नका लागि नै वैदेशिक रोजगारीमा पुगे ।
वैदेशिक रोजगारीको क्रममा पसिना बगाएर कमाएको पैसाबाटै २०८० वैशाख ८ गते छोरी अनिशा ठाकुरको विवाह महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५का सुभाष ठाकुर संग धूमधामका साथ गरे ।
राजेशले छोरीका लागि बुनेको सपना विवाह गरिदिएको एक वर्ष नबित्दै तुहियो । सुभाषले विवाह गरेको एक वर्ष नबित्दै कान्छी श्रीमती भित्रयाएको आरोप अनिशाका काका सुरेश ठाकुरले लगाएका छन् ।
हाल जनकपुरधाम–२४ कटैयाचौरी बस्दै आईरहेका ठाकुरको भतिजी अनिसाको विवाह एक वर्ष नबित्दै टुट्ने स्थितिमा पुगेको छ ।
वैदेशिक रोजगारमा रहेका पिपरा गाउँपालिका ५ हर्दियाका श्रीनारायण ठाकुरको छोरा सुभाषले विवाह गरेको एक वर्ष नपुग्दै अर्की श्रीमति भित्राएर अनिसालाई यातना दिन थालेको सुरेशले आरोप लगाए । विवाहको दश दिनपछि वैशाख १८मा अनिशाको ससुरा श्रीनारायण रोजगारका लागि विदेश उड्नुपर्ने थियो । बुबालाई छोड्न सुभाष काठमाडौं पुगे ।
बुवा विदेश पुगि सकेपछि वैशाख २०मा सुभाष काठमाडौंबाट घर फर्किए । २४ गतेसम्म अनिसा–सुभाषको वैवाहिक सम्बन्ध ठीकठाक चल्यो । त्यसपछि सुभाषले एक्कासी अनिसाको बुबा राजेशलाई फोन गरेर ‘म तपाईंको छोरीलाई राख्दिनँ, लिएर जानुस’ भने । राजेशले किन नराख्ने भनेर सुभाषलाई प्रतिप्रश्न गर्दा सुभाषको जवाफ थियो,‘तपाईंकी छोरीको मानसिक स्थिति ठीक छैन त्यसैले राख्दिनँ भने ।’
राजेशले आफ्नी छोरीको मानसिक स्थिति ठीक छ छैन भन्ने पुष्टि डाक्टरले गर्ने भएकाले चेकजाँचका लागि आफू तयार रहेको बताए । तर, उनीहरूले केही सुनुवाइ गरेनन् । ज्वाँईको त्यो एक–दुई मिनेटको टेलिफोन कलले राजेशको परिवारमा भुइँचालो गयो । राजेश आफना भाई सुरेश सहित आफन्तहरूलाई लिएर पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षलाई भेटे । छोरीसँग भएको घटनाको वृत्तान्त सुनाए । वडाध्यक्षले सुभाष र उनकी आमालाई बोलाएर विवाह गरेर अनिसालाई किन नराखेको भनेर प्रश्न गरे । उनीहरूले फेरि त्यही जवाफ फर्काए ।
वडाध्यक्षले ‘पाँच जनाले फेरि केटी हेर्ने र उनीहरूले दिने निर्णय मान्य हुन्छ कि हुँदैन ?’ भनेर सुभाष र उनकी आमालाई प्रश्न गरे । दुवै जनाले हुन्छ भन्दै सहमति जनाए । वडाध्यक्षको रोहवरमा बेहुलीसंग पुन:पुछताछ र अनुसन्धान भयो कुराकानी भयो । सुभाष परिवारको आरोप अनुसार अनिसामा कुनै समस्या देखिएन । उनीहरूले अनिसालाई घर भित्रर्याउन सुभाष र उनकी आमालाई सुझाव दिएपनि उनीहरु तयार भएनन् । कारण थियो– शुभाषको अर्को विवाह । कतैबाट कुनै सुनुवाइ नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै काका सुरेश जिल्ला प्रहरी कार्यालय धाउँदै आईरहेका छन् । सुरेशका अनुसार एकजना महिलाको जिन्दगी यति सस्तो देखियो सुभाषको दोस्रो विवाह गराउन उनकै आमा, मामा अरुण ठाकुर र दोस्रो बेहुलीकी आमाकै मिलोमतो रहेको आरोप लगाए ।
अनिसालाई स्वीकार गरेर घर भित्र्याउने सहमति भए पनि केटापक्ष तयार नभएपछि आफूहरू बहुविवाहको मुद्दा प्रक्रिया अगाडि बढाउन बाध्य भएको सुरेशले बताए । जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गर्न निवेदन दिए पनि निवेदन लिन अस्वीकार गरेको सुरेशले गुनासो गरे ।
‘महिला सेलको सई थिए भरत ठाकुर, उहाँलाई हामीले पटक–पटक अनुरोध ग¥यौं, सँधै मिलाउँदै छु भन्नुभयो । केही सुनुवाइ भएन,’ उनी भन्छन्,‘सई भरत ठाकुर केटापक्षको आफन्त हो कि पैसाको चलखेल भएको हो मलाई थाहा भएन ।’ आफूहरूले छोरीलाई बुहारीको मान्यता दिन अनुनय विनय गरिरहेकै बेला मंसिर २६ गते राति कुटपिट गरी केटापक्षले अनिसालाई जनकपुरधामको माछा बजारनजिक अलपत्र अवस्थामा छाडेर गएको सुरेशले बताए ।
सुरेशले तत्काल महोत्तरीका डिएसपीलाई फोन गरेर घटनाबारे जानकारी गराए । उनका अनुसार डिएसपीले छोरीलाई अहिले घरमै राखेर भोलि जिल्ला प्रहरी कार्यालय आउन भनेका थिए । मंसिर २७मा अनिसाको परिवारले सुभाषविरूद्ध किटानी जाहेरी दर्ता गराए । तर, सुभाष भने अझै प्रहरीको फन्दामा परेका छैनन् । प्रहरीले सुभाष फरार रहेको भन्दै पन्छिन खोजिरहेको छ भने सुभाष हरेक राती घरमा आएर विहान पुन:लुक्ने गरेको उनीहरुको अरोप छ ।
सुभाषलाई भगाउन सई भरत ठाकुरको प्रमुख भूमिका रहेको सुरेशको दाबी छ । सुभाषले दोस्रो विवाह गरेको भनिएको केटीसँग प्रहरीले सोधपुछ गरेको छ । गर्भवती रहेकी उनले सुभाषसँग आफ्नो विवाह भएको स्वीकारेकी पनि छन् । आफ्नी भतिजीसँग विवाह गरेर पनि फेरि अर्को विवाह गरेकाले सुभाष विरूद्ध बहुविवाहको मुद्दा दर्ता गर्न चाहेका छन् । तर, मुद्दा प्रक्रियामा नगएर मिलापत्रका लागि आफूहरूमाथि दबाब आइरहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय महोतरी महिला सेलका तत्कालिन प्रमुख सई लेखनाथ खनालले सुभाषले दोस्रो विवाह गरेको भनिएकी केटीलाई आफुले उद्धार गर्दा उनले विवाह स्वीकार गरेको भएपनि उनलाई अहिले के कति कारणले रिहा गरिएको हो आफुलाई थाहा नभएको बताए ।