वीरगञ्ज:नेपालीलाई क्यासिनो नखेलाउन कानूनी व्यवस्था रहेको छ । तर पर्साको वीरगञ्ज महानगपालिकास्थित विभिन्न होटलहरुमा प्रशासनकै मिलोमतोमा कानून विपरित नेपालीलाई खुल्मखुल्ला क्यासिनो खेलाईदैछ ।
गत दुई साताअघि पर्सा प्रहरीले वीरगञ्जको होटल भिस्वाको क्यासिनोबाट ४ जना नेपालीलाई पक्राउ गरेको थियो । कर्मचारीहरुको मिलोमतोमा नेपालीहरुलाई प्रवेश दिलाएको भन्दै ३ जना कर्मचारीसहित ४ जनालाई पक्राउ गरेको थियो । गएको चैत ६ चैत गते सो होटलबाट प्रहरीले पोखराका प्रताप लामा, सर्लाहीका उमेश कार्की, बीरगन्जका पप्पु सिंह र सुरज कलवारलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा एक जना नेपाली जुवाडेसहित ३ जना कर्मचारी पक्राउ परेका थिए । सो घटनाको ठीक १२ दिन पछाडि अर्को क्यासिनो दियालो किंग्स रोयलमा नेपाली प्रवेश गरेर विवाद भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो । भाइरल भिडिओमा नेपाली जुवाडेहरु क्यासिनोका वेटरसंग खाने कुरा माग्दा नदिएपछि दुबै जनाबिच विवाद भएको देखिन्छ, जहाँ ती नेपाली जुवाडेले वेटरमाथि हातपात नै गरेका प्रष्टरुपमा देखिन्छ ।
यी अधिकांश क्यासिनोमा नेपालीलाई खेलाउने र कानून विपरितका कार्ड गेमसहित २ वटा काम भइरहेको तथ्यले नै प्रमाणित गरिरहेको छ । नेपालीलाई प्रवेश दिलाउनु र खेलाउनै नपाइने कार्ड गेम खेलाउन काम क्यासिनोले गर्न नपाउने नियमावलीमै उल्लेख छ । तर वीरगञ्जका क्यासिनोहरुले भने क्यासिनो नियमावलीलाई बेवास्ता गर्दै नियमविपरीत क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराई नियम विपरितका गेम खेलाई रहेका छन् ।
नियमावली अनुसार मिनी क्यासिनोमा कार्ड गेम खेलाउन मिल्दैन । तर वीरगञ्जस्थित सबै क्यासिनो मिनि क्यासिनो भएपनि कार्ड गेम र डेक्रेट कार्ड गेम खेलाई रहेको छ । कार्ड गेममा तासको फ्लास र म्यारिज खेल हुने गरेको स्रोत बताउँछ ।
नियमावलीमा नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार त्यसको इजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ । तर क्यासिनो नियमावली २०७६ ले तोकेको खेलहरु भन्दा बाहिरका खेलहरु भइरहेको घटना बाहिर आएपनि प्रशासनिक निकाय भने चुपचाप छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले क्यासिनोहरुमा नेपाली प्रवेश गराउनु भनेको एकदम गम्भीर अपराध रहेको प्रतिक्रिया दिएपनि कारवाहीको प्रक्रिया अघि बढाएको छैन । उनले भने,‘हामी भाइरल भइरहेको भिडिओको बारेमा अनुसन्धान गर्छौ, त्यसपछि प्राप्त प्रमाणको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’
प्रशासनिक निकायका कर्मचारीहरुको नाममा क्यासिनोबाट पैसा गइरहेको उनले पनि स्वीकार्दै भने प्रशासनिक निकायको नाममा पनि क्यासिनोबाट ठूलो रकम गइरहेको सूचना प्राप्त भएको छ, जुन गलत कुरा हो । हाम्रो नाममा कसैले पैसा उठाइरहेको छ भने त्यो उसैले खाइरहेको छ, हामी यस्ता कुराको गहन अनुसन्धान गरेर सबैमाथि अब कारबाही गरिन्छ ।’
यता बीरगन्जका क्यासिनोमा नेपाली प्रवेश पाइरहेको बारेमा तथ्य फेला परेपनि किन नियमानुसार कारबाही नभएको सोधिएको प्रश्नमा पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले सम्बन्धित निकायसंग समन्वय गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
वीरगञ्जमा चारवटा क्यासिनो सञ्चलानमा छन् । वीरगञ्जको क्लार्क रिसोर्ट, भिस्वा होटल, दियालो लर्डस र सुरज होटलमा क्यासिनो सञ्चालनमा छन् । क्लार्कमा गोल्डेन फिंगर गेमिङजोन, भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, दियालोमा किंग्स रोयल क्यासिनोको नाममा इजाजतपत्र लिएर यी क्यासिनोहरु सञ्चालित छन । यसैगरी सुरजमा भने फोरचुन सिटीको नाममा क्यासिनो सञ्चालित रहेको छ ।