काठमाडौँ:दिल्ली सरकारकी मन्त्री आतिशीले केन्द्रमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) ले आफ्नो पार्टीमा सामेल नभए पक्राउको धम्की दिएको बताएकी छिन् । मंगलबार दिल्लीमा पत्रकार सम्मेलन गर्दै अरविन्द केजरीवाल सरकारकी महत्त्वपूर्ण सदस्य रहेकी शिक्षामन्त्री आतिशीले पार्टीमा नआए १ महिनाभित्र गिरफ्तार गर्ने भाजपाले धम्की दिएको बताएकी हुन् ।

आतिशीले भाजपाले आम आदमी पार्टी(आप) लाई समाप्त पार्ने षड्यन्त्र गरेको पनि बताइन् । उनले भनिन्, ’आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । सबैभन्दा पहिले सत्येन्द्र जैनलाई पक्राउ गरियो । त्यसपछि मनीष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरियो ।’ आतिशीले आफूसहित आम आदमी पार्टीका अन्य नेताहरू सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्ढालाई पनि पक्राउ गर्न लागिएको बताएका छन् । ’भाजपाले सोच्छ होला कि आम आदमी पार्टीका नेताहरूलाई पक्राउ गरेर पार्टी समाप्त हुन्छ । तर यस्तो हुनेवाला छैन ।’

लोकसभा चुनाव आउनै लाग्दा नरेन्द्र मोदी सरकार लोकतन्त्र समाप्त गर्ने खेलमा लागेको विपक्षी दलहरूले आरोप लगाएका छन् । बिनाप्रमाण विपक्षी दलका नेताहरूलाई पक्राउ गरिनु राजनीतिक प्रतिशोध भएको उनीहरूको आरोप छ । दिल्लीका मुख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारमातहतको जाँच एजेन्सी प्रवर्तन निर्देशनालय(ईडी)ले सरकारी निवासबाट नियन्त्रणमा लिएको हो । मदिरा बिक्री वितरणको अधिकार निजी क्षेत्रलाई दिने नीति ल्याएर केजरीवाल नेतृत्वको दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोप छ । उनी पक्राउ पर्ने आशंका केही महिना पहिलेदेखि नै थियो ।

भाजपाले सरकारी संयन्त्रलाई विपक्षीविरुद्ध प्रयोग गरेर चुनावी लाभ लिन खोजेको आरोप लगाइरहेका छन् । ईडीद्वारा गरिएको कारबाहीले पनि त्यो संकेत गर्छ । २०१४ यता ईडीले १ सय २१ नेतामाथि कारबाही चलाएकोमा त्यसमध्ये १ सय १५ जना विपक्षका नेता छन् । ईडीको कारबाहीमा ९५ प्रतिशत विपक्षी दलका नेता परेका छन् । जबकि केन्द्रदेखि अधिकांश राज्यमा भाजपा नेतृत्व वा गठबन्धनको सरकार छ । भाजपामा प्रवेशपछि ‘ईडी’ को कारबाहीबाट कतिपय नेता चोखिएका उदाहरण पनि छन् । त्यही भएर विपक्षी खेमाले भाजपालाई ‘वासिङ मेसिन’ पनि भन्दै आएको छ ।

पछिल्लो डेढ महिनायता विपक्षी खेमाका दुई जना मुख्यमन्त्री नै जेल पुगेका छन् । एकपछि अर्को विपक्षी नेताहरू सरकारी एजेन्सीको ‘जालो’मा पर्नुलाई विपक्षी नेताहरूले देशमा संकटकालीन स्थिति र अलोकतान्त्रिक व्यवहार भनेर टिप्पणी गरेका छन् । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले विपक्षी नेताहरूलाई जेलमा राखेर मोदीले रूसको पुटिन मोडलमा चुनाव गराउन खोजेको टिप्पणी गरेका छन् । भारतमा १८औं लोकसभा चुनाव घोषणा भइसकेको छ । २५ दिनपछि १९ अप्रिलमा पहिलो चरणको मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको