जनकपुरधाम:‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत संलग्न रहेको उल्लेख गरिएको छ । प्रम प्रचण्डका साथै सो पुस्तकमा व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत संलग्नता रहेको दावी गरिएको छ ।

कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा कसरी अर्बपति भए भन्ने पुस्तकमा उल्लेख छ । समग्रमा ‘कुकुल्याण्ड’ले नेपालमा टेलिकम भ्रष्टाचारको वृत्तान्त नै दिएको छ ।

‘कुकुल्याण्ड’ बेलायती पत्रकार टमले बरजिसको नयाँ किताब हो । केही हप्ता पहिले मात्र बजारमा आएको यो पुस्तक बिक्रीका लागि सबै देशमा पुगिसकेको पनि छैन । तर, पनि डिजिटल भर्सन र सीमित उपलब्धताका बाबजुद पनि यसमा छापिएको विषयवस्तु बारे चौतर्फी चर्चा सुरु भइसकेको छ ।

‘द लुटिङ मेसिन’ र ‘क्लिप्टोपिया’ जस्ता बेस्ट सेलिङ पुस्तकका लेखक बरजिस युद्ध सरदार, संगठित अपराध, अवैध व्यापार र कालो धनका बारेमा केन्द्रित भएर रिपोर्टिङ गरिरहेका पत्रकार हुन् । प्रकाशित उनका सबै किताब उनको रुचिका तिनै विषयवस्तुमा केन्द्रित छन् ।

बेलायती पत्रिका ‘फाइनान्सियल टाइम्स’मा आबद्ध भएर लामो समय अफ्रिकी मुलुकमा रिपोर्टिङ गरेका उनले केही वर्ष पहिले त्यहींको बहुमूल्य प्राकृतिक खानीमा हुने अवैध कारोबारमा केन्द्रित भएर ‘द लुटिङ मेसिन’ पुस्तक लेखेका थिए ।

त्यसपछि उनले रसिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, अफ्रिकी मुलुक र अरबमा रिपोर्टिङ गर्ने क्रममा ‘क्लिप्टोपिया’ लेखे । जसमा कालोधनले संसारभर कसरी पकड जमाइरहेको छ र ती देशको अर्थतन्त्रको अवस्था कस्तो छ भनेर समेत उजागर गरिएको छ । पुस्तकमा धनी मुलुकका पनि धनाढ्य भनिएका व्यक्ति कसरी कालो धनको धन्दामा जोडिएका छन् भन्ने प्रसङ्ग खोतलिएको छ ।

लेखक बरजिसले ‘क्लिप्टोपिया’ मा प्रकाशित विवरणलाई लिएर आफूलाई उद्यमी, परोपकारी र विचारकको परिचय दिने तर खासमा अवैध रूपमा पैसाको भरमा टेलिकम व्यवसायमा रहेकाहरूका लागि बिचौलियाको रूपमा काम गरिरहेका बेलायती नागरिक मोहम्मद अमेर्सीसँग कानुनी लडाइँ नै लड्नुप¥यो ।

अमेर्सी आफैं टेलिकम बिचौलिया हुन् । सञ्चारमाध्यमले आफूले भने जस्तो नलेखे वा प्रसारण नगरे अदालतमा मुद्दा हालेर विरोधी र प्रेसको मुख बुजो लगाइदिने तिनै अमेर्सीसँग किताबका कारण टमले बेलायतमा कानुनी लडाइँको सामना गर्नुप¥यो ।

अदालती लडाइँमा बरजिसको हात माथि प¥यो । त्यससँगै उनले पत्रिकाको नियमित जागिर छोडे । भ्याएको बेला रिपोर्टिङ गर्ने गरेर गार्डियनको खोज पत्रकारिता ब्यूरोमा आवद्ध भए । तर, उनले अधिकांश समय मोहम्मद अमेर्सीको संलग्नता भएका अफ्रिकी र एसियाली देश पुगेर आफैं रिपोर्टिङ गरे । बेलायतमा बसेर ती देशका बिचौलियाहरूले अमेर्सीको कालो धनको व्यापारलाई चलायमान हुन कसरी सहयोग गरिरहेका छन् भनेर तीन वर्ष अध्ययन अनुसन्धानमा बिताए ।

त्यही लामो अनुसन्धान पछि प्रकाशित भएको हो, ‘कुकुल्याण्ड’ । जसको अर्थ हुन्छ वास्तविकता र व्यावहारिकता भन्दा पनि आफ्नै सोचमा रमाइरहेकाहरूको भूमि । ती व्यक्तिहरूका लागि उनीहरूले ठानेको मात्रै सत्य हुन्छ । तर, प्राप्त विवरण र तथ्यका आधारमा लेखक बरजिसले सत्य उनीहरूले भनेको भन्दा उल्टो रहेको भेट्टाए । उनीहरूको अनुहार देखिए भन्दा फरक थियो । किताबमा त्यही सत्य अन्वेषण गरिएको छ ।

विभिन्न देशमा भएका टेलिकम भ्रष्टाचारको नालीबेली उत्खनन् गरिएको ‘कुकुल्याण्ड’मा नेपालको टेलिकम भ्रष्टाचारका विभिन्न प्रसङ्गहरूमा सविस्तार चर्चा गरिएको छ । नेपालमा भएको टेलिकम भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम पनि उल्लेख भएको भेटिन्छ ।

सँगै त्यतिबेला सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका माओवादी नेता, माओवादीको शिविर घोटाला काण्ड र माओवादीको आडभरोसामा उदाएका व्यवसायी अजेयराज सुमार्गी, तत्कालीन राजपरिवार र निजी टेलिकम कम्पनी सञ्चालकहरूको प्रसङ्गको व्याख्या गरिएको छ–पुस्तकको मिस्टर एक्सवाई शीर्षकमा ।

तीन पटक देशको प्रधानमन्त्री भएका प्रचण्डसँग राजावादीहरूको संगतमा रहेका अजेय सुमार्गीको निकटता, हेलो नेपालको स्थापना, टेलियासोनेराको हेलो नेपालमा भएको लगानी र एनसेल खरिदबिक्री प्रकरणमा उनीहरूको संलग्नता पुस्तकमा देखाइएको छ ।

सत्र खण्डमा लेखिएको किताबको एक खण्ड टेलियासोनेराको सल्लाहकारको रूपमा काम गरेका टेलिकम बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा सुमार्गीले आर्जन गरेको सम्पत्तिको सम्बन्धमा छ ।

बिचौलिया अमेर्सीले सुमार्गीलाई कसरी बिचौलियाको रूपमा प्रयोग गरेर माओवादी र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावमा पारे भन्ने विषय रोचक ढंगले रिपोर्टिङ शैलीमा प्रस्तुत गरिएको छ ।

राजदरबार हत्याकाण्डको प्रसङ्ग उप्काउनुको कारण लेखककै शब्दमा ‘प्रायजसो काठमाडौंका क्यासिनो र होटलमा समय बिताउने’ ज्ञानेन्द्रका ज्वाईंले निजी टेलिकमको लाइसेन्स लिएर व्यवसायमा आएकोसँग सम्बन्धित छ ।

पुस्तकका अनुसार, राजदरबार हत्याकाण्डपछि काठमाडौंबाट ६ घन्टाको दूरीमा रहेको हेटौंडाबाट आएका अजेय सुमार्गी र ज्ञानेन्द्रका ज्वाइँको भेटघाट हुन्छ । सुमार्गीले राजदरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारीको सम्पत्ति नयाँ राजा ज्ञानेन्द्रकी छोरीको नाममा दर्ता गर्न सहयोग गर्छन् ।

त्यसबाहेक कतिले सुमार्गीको भूमिका राजपरिवारका सदस्यलाई सहयोग गर्ने, कतिले गोप्य कागजातहरू मिलाउने भएको उल्लेख गरेको विषय पुस्तकमा समेटिएको छ । यसरी सुमार्गीको हिमचिम राजदरवारसँग झन् प्रगाढ भएको पुस्तकले बताउँछ । त्यो सम्पत्ति ज्ञानेन्द्रकी छोरीको नाममा दर्ता गर्न सफल भएपछि राजाका ज्वाइँको कृपाले सुमार्गीको उदय टेलिकम व्यवसायीको रूपमा हुन्छ ।

पुस्तकमा अजय सुमार्गी टेलिकम व्यवसायी हुनुअघि उनको आर्थिक हैसियतको बारेमा पनि चर्चा गरिएको छ । उल्लेख भए अनुसार, हेटौंडामा अजेयका बुबाको चुनढुङ्गा उद्योग थियो । जसले गर्दा उनको आर्थिक अवस्था गाईबाख्रा चराएर वा लुकीछिपी गाँजा खेती गरेर हातमुख जोहो गर्ने अन्यको भन्दा राम्रै थियो । तर, मोटरसाइकल दुर्घटनामा उनका बुवाको मृत्यु भएपछि सुमार्गीको भविष्यमा ठेस लाग्यो ।

सुमार्गीलाई प्रहरीले अवैध काठ ओसारपसार गरेको आरोपमा केही समय पक्राउ गरेर छोडेको प्रसंग पनि पुस्तकमा छ । काठ ओसारपसार मामिलामा प्रहरीले पक्राउ गरेपछि मात्रै सुमार्गी राजधानी छिरेका थिए । त्यसपछि उनको आर्थिक हैसियत आश्चर्यजनक रूपमा चुलियो ।

पुस्तकले माओवादी र टेलिकम कम्पनीहरूको सम्बन्ध पनि खोतलेको छ । १६ हजार नेपालीको ज्यान लिने सशस्त्र युद्धपछि सन् २००६ मा भएको सडक आन्दोलनले ज्ञानेन्द्रको निरंकुशता असफल बनायो । स्वाभाविक रूपमा सत्ताच्यूत भएपछि राजदरबारको प्रभावमा कमी आयो ।

पुस्तकका अनुसार युद्धका बेला ‘बैंक लुटपाटमा संलग्न भएका’ माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरे । पुस्तकमा ‘श्रीपेच जलाऔं’ भन्दै हतियार बिसाएर सडकमा आएका माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको चर्चा गरिएको छ ।

विस्तारै सुमार्गी माओवादी नेतृत्वसँग नजिक भए । त्यो समय नेपालमा लगानी गर्न चाहने पश्चिमा टेलिकम कम्पनीहरूले अध्ययनका लागि खुफिया परिचालन गरेका थिए ।

नेपालमा टेलिकम उद्योग उदाइरहेको समय थियो त्यो । पश्चिमा खुफियाहरूले त्यो बेला माओवादी नेतृत्वको विश्वासिलो सम्पर्क सूत्रका रूपमा सुमार्गीलाई भेट्टाएको प्रसंग पुस्तकमा उल्लेख छ ।

भेटमा प्रधानमन्त्रीले उनीहरूलाई सबैभन्दा ठूलो करदाताको रूपमा स्वागत गरेको र वैदेशिक लगानी गर्न आह्वान गरेको प्रसङ्ग पनि उल्लेख छ ।

भेटमा टेलियासोनेराका प्रतिनिधिले नेपालमा भएको प्रगतिबारे सन्तोष व्यक्त गरेर केही समस्या भोगिरहेको बताएका थिए । प्रधानमन्त्री दाहालले अमेर्सी मार्फत त्यतिबेला नेपालमा सञ्चालन भइरहेका तीन टेलिकम कम्पनीलाई मिलाएर लैजान सुझाव दिएका थिए ।

‘एक हिसाबले हेर्दा तपाईंले केही गर्नुपर्दैन तर यो समस्या समाधान बारे सोच्नुहोस् कि नेपालमा भएका तीन टेलिकम सञ्चालकलाई मिलाउनुस्’ प्रचण्डको भनाइ उद्धृत गर्दै पुस्तकमा लेखिएको छ ।

अर्को शब्दमा भन्दा एउटा मोबाइल कम्पनी किन्न भनिएको थियो । त्यतिबेला अजेय सुमार्गीको हेलो नेपाल दर्ता भइसकेको थियो । राजदरबारको शक्ति कमजोर भएपछि सुमार्गी माओवादीका प्रिय भएका थिए ।

सन् २००९ मा दाहाल आफैंले माओवादी प्रभाव क्षेत्रको रूपमा रहेको मध्यपश्चिम क्षेत्रमा टेलिकम कम्पनी हेलो नेपाल उद्घाटन गरेका थिए ।

यसैगरी सुमार्गीलाई मोबाइल कम्पनी सञ्चालनको लाइसेन्स पनि माओवादीको पहिलो सरकारका सञ्चार मन्त्री (हाल सुनकाण्डमा प्रहरी अनुसन्धानमा रहेका कृष्णबहादुर महरा) ले दिएको प्रसंग पुस्तकमा उल्लेख छ ।

पछि ती मन्त्रीलाई सुमार्गीले धनी बनाइदिएको आरोप लागेको पुस्तकमा उल्लेख छ । त्यो आरोपको स्वतन्त्र पुष्टि नभए पनि प्रक्रिया विना हठात् लाइसेन्स दिएर राज्यलाई करोडौं डलर घाटा भएको निष्कर्ष संसदीय समितिको रहेको पुस्तकमा उल्लेख छ ।

पुस्तकका लागि अन्तर्वार्ताका क्रममा लेखकले सुमार्गीसँग लामो समय काम गरेका व्यक्तिहरूसँग भेटेका थिए । तिनका अनुसार, माओवादीले अवैध रूपमा आर्जन गरेको सम्पत्ति सुमार्गी मार्फत परिचालन गरेका थिए ।

‘प्रचण्डको सम्पत्ति उनले (सुमार्गीले) आफ्नो नाममा दर्ता गरे । प्रचण्डलाई प्रभावमा राखेर उनको पैसा प्रयोग गर्न सक्षम भए’, पुस्तकमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको