जनकपुरधाम:प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् ।बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिएका थिए ।
सङ्घमा गठबन्धनमा भएको सहमति अनुसार कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाएको थियो । अब कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार बन्नेछ ।
एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै प्रदेश प्रमुख तिलक परिवारले बुधबार चैत २७ गतेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।
आजै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गरेका थिए । नयाँ सरकार नबन्दासम्म मुख्यमन्त्रीको कामकारबाही शर्माले नै गर्नेछन् । अब माओवादीसमेतको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चित छ ।