मधेस सरकारको नारा ‘आली–आलीमा सपेता गरिबी वेपत्ता’

जनकपुरधाम:मधेशमा दिनानुदिन पानीको संकट गहिरिदो छ । भएका मुहानहरु सुक्न थालेका छन् भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।

तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसला (सपेता)को रुखलाई समेत दोष देखाउन थालिएको छ ।

झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुख कै कारण मधेश मरुभूमीकरण तर्फ उन्मुख भएको किसानहरुले गुनासो गर्न थालेका छन् ।

‘जब–जब यो मसलाको बिरुवा लगाइयो तब पानीको चरम अभाव सिर्जना हुँदै गयो,’ बर्दिवास हातिलेटका पदम मगरले भने, ‘मलाई लाग्छ पानी सुक्नुको प्रमुख कारण यही नै हो ।’

पानी पाइरहने ठाउँहरुमा मसलाको रुख रोपेपछि पाउन छाडेको मगरको अनुभव छ । रुख ठूलो बनिसकेको ठाउँमा एक किलोमिटरसम्म उर्वरभूमि समेत बन्जर बनेको बताउदै यही रुखको कारण नै पानी र माटोलाई समेत असर गरेको उनको दाबी छ ।

अन्य रुखको तुलनामा अग्लो र मोटो हुने हुँदा स्वभाविक रुपमा एउटा रुखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु स्वीकार गर्छन् ।

पर्यावरणविद डा. विजय सिंहका अनुसार पानीका दृष्टिकोणले मसलाको रुख मधेशमा हानिकारक नै भएपनि किसानहरुको लागी व्यावसायिक उत्पादनमा महत्वपूर्ण छ ।

‘यो जातको रुख कत्तिको हानिकारक छ भन्ने बिषय बैज्ञानिक ढंगले अनुसन्धान गर्न जरुरी छ । मधेसमा पानीको समस्या गहिरिदो छ, किसानले गरेको गुनासोमा अध्ययन गर्न सक्नुपर्छ ।’

तर विभिन्न अध्ययनले भने मसलाको रुख पर्यावरणीय हिसावले हानिकारक नै हुने निष्कर्ष निकालेका छन् ।

अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरुमा एसिड हुने हुँदा माटोको उर्वराशक्तिमा ¥हास आउने र पानी वढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईव्रेरीका अनुसार भुमिगत पानीमा यसले गहिरो असर पु¥याउने गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिदै गएको छ ।

बिज्ञहरुले यो रुखलाई पर्यावरण विरोधीका रुपमा उभ्याएका छन् । पारिस्थितिक प्रणाली तथा जैविक प्रणालीको हिसावले अरुको अस्तित्व स्वीकार गर्न नसक्ने बताउदै पर्यावरणविद् नागदेव यादवले मधेशवाट यो रुखलाई विस्थापन गर्नुपर्ने वताउँछन् ।

‘यो रुखमा चराचुरुङ्गीले त वासस्थान वनाउदैनन् त्यसमाथि किरा, पतङ्ग समेत भेटिदैन । त्यसैले यो रुखलाई पर्यावरण विरोधी हो भन्न सकिन्छ,’ उनले भने, ‘भुमिगत पानीको मुहान समेत यो रुखले सखाप वनाइरहेको देखिन्छ ।’

यादवको जस्तै एक अनुसन्धानले पनि एक वयस्क रुखले ६२ लिटरभन्दा बढी दैनिक पानी खपत गर्ने बताएको छ ।

सन १९९३ मा युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा ४०० एमएल देखि १ हजार २०० एमएलसम्म बार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

अध्ययनमा यो रुखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने उल्लेख गरिएको छ । अध्यनअनुसार अझ तापक्रम असन्तुलन वनाइराख्ने हुदा जलवायु परिवर्तनमा समेत न्यून भूमिका खेल्ने देखिएको छ । देख्दा सदावहार हरित देखिए पनि अध्ययनले यो रुख पानीको लागि निक्कै हानिकारक हुने जनाएको छ ।

केही बर्ष अघिसम्म मधेसमा यो रुख लगाउन अभियान नै चलाइएको थियो । ‘आली–आलीमा सपेता गरिबी वेपत्ता’ भन्ने मुल नाराका साथ मधेसका सागरनाथ वन परियोजनादेखि व्यक्तिगत जग्गामा समेत मसलाका रुखहरु व्यापक लगाउन थालियो ।

सागरनाथ वन परियोजना र जिल्ला वन कार्यालयको अनुसार अहिले मधेसमा करोडौ संख्यामा मसलाका रुखहरु फैलाइएको छ । अष्ट्रेलियाका लेखक एलन रुटले पनि आफ्नो एक लेखमा यो रुख पानीका लागि भने हानिकारक हुनसक्ने बताएका छन् । यो रुखको उत्त्पत्ति पनि अष्ट्रेलियामा नै भएको मानिन्छ ।

लेखक रुटका अनुसार अष्ट्रेलियाको सिमसार र दलदल भएको ठाँउलाई सुख्खा बनाउन यो रुख लगाइएको थियो । केही बर्षमै सिमसार क्षेत्रलाई यसले सुख्खा वनाइदियो ।

त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा लगाउन सुरु गरियो । छिटो बढने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुँदा आयआर्जनका दृष्टिकोणले फाइदाजनक भएपछि विश्वभर फैलाइएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञहरु बताउँछन् ।

मसलाको रूखलाई अरू भूभागमा सार्नुमा अष्ट्रेलियाका डा. एडमन्डो नाभारु डे आन्ड्राडेको ठूलो योगदान रहेको बताइन्छ । ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा उनले अस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले ।

तीमध्ये ३ करोड ८० लाखको वृक्षारोपण उनी आफैले गरेका थिए । ब्राजिलमा मात्र २ अर्बभन्दा बढी मसलाका रूखहरू भएको बताइन्छ ।

यो रुख पानी र पर्यावरणीय हिसावले हानिकारक नै छ भन्ने विषयलाई पछिल्लो समय अष्ट्रेलियाको सरकारले समेत महसुस गरेको देखिएको छ । यो रुख कै कारण पर्यावरणमा हानी पुगेको विषयलाई मध्यनजर गर्दै ३ लाख वर्गमिटरमा फैलिएका रुखहरुलाई विस्थापन गरिएको अष्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ ।

पहिले त अष्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ ।

भारतमा १८४३ मा नै यो रुख भित्रिएको पाइएको छ । बेलायती नागरिकले तामिलनाडूमा लगेर रोपेपछि भारत लगायत यसको बिरुवा नेपालसम्म विस्तार भयो । सागरनाथ वन परियोजनाले २०३० को दशकमा नेपालमा भित्र्याएको थियो ।

त्यसलगत्तै सरकारले यो रुख रोप्ने नीति नै बनायो । तराई र मधेसमा ‘आली–आलीमा सपेता, गरिवी वेपत्ता’ भन्ने नारा नै वनाइएको थियो । मधेसमा मसलाको रुखलाई सपेता पनि भन्ने गरिन्छ । वृक्षारोपण गरेपछि ४ वर्षको अवधिमा किसानहरुको अनुभव अनुसार यसले भयावह असर पुर्याईरहेको छ ।

उर्वराशक्ति क्षीण वनाउने, पानीको मात्रा सोसेर मरुभूमिकरणमा सहयोग गर्ने, प्रज्वलनशिल हुने हुँदा आगलागीमा सहयोगी हुने, अक्सिजनको मात्रा न्यून हुने, उत्पादनमा कमी आउँदा किसानहरु नियमित खेतीपातीबाट पलायन हुनुपर्ने अनेकौ समस्या सिर्जना भएको किसानहरुको गुनासो छ ।

यही रुखका कारण मधेसका कतिपय पालिकाहरुमा किसानहरुले विस्थापन गरिदिन निवेदन समेत दिएको पाइएको छ । २०७६ सालमा बर्दिवासमा बसेको प्रदेश समन्वय समिति वैठकमा समेत मसलाको विरुवा विस्थापन गर्नुपर्ने माग गरिएको थियो ।

यसै क्रममा धनुषाको मिथिला नगरपालिकाले त प्रस्ताव नै पेश गर्यो । उपप्रमुखले पेश गरेको उक्त प्रस्तावमा मसलाको विरुवालाई रोक्न कानुन नै बनाउनुपर्ने माग गरिएको थियो ।

रुखले किसानहरुको पानी र वालीनालीमा गम्भीर असर परेको वाक्लै निवेदन आएपछि हटाउने र बरु फलफूलको विरुवा रोप्ने नगरसभावाट नै पास गराएको बताइएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिकाको विषयलाई लिएर पनि किसानहरुले गुनासो गर्न थालेका छन् । अघिल्ला नगरप्रमुख विदुर कुमार कार्कीले कतिपय सार्वजनिक कार्यक्रमहरुमा मसलाको रुख निषेध गर्नुपर्ने वताए पनि नीतिगतरुपमा भने पास हुन सकेको थिएन । अहिले पनि उक्त गुनासाहरु बढ्दै गएको उपप्रमुख तारादेवी महतोका सहयोगी विष्णुदेव महतो बताउँछन् ।

मसलाको रुख नेपालमा ल्याउनुमा शक्ति राष्ट्रको स्वार्थ रहेको विज्ञहरु दाबी गर्छन् । वैज्ञानिक समाजवादीका नेता मदन प्रभात सन् १९९० पछि उदारवादी अर्थतन्त्रको प्रभावमा सरकारले चुरे भावर क्षेत्रमा सागरनाथ वन परियोजनाको नाममा लाखौँ हेक्टरमा युक्लिप्टस (भिक्स)को बिरुवा लगएको दाबी गर्छन् ।

चाँडै आम्दानी दिने बिरुवाको नाममा चारकोसे झाडीको सखुवाका रूख मासेर दलदले जमिनलाई सुक्खा बनाउन मसलाको बिरुवा लगाएर नेपाली वन क्षेत्रमा उदारवादी अर्थतन्त्रको प्रयोग गर्नु नै सवैभन्दा दुखद भएको उनको भनाई छ ।

‘भावर क्षेत्रलाई मात्र होइन, माथिल्लो चुरे र तल्लो मधेसलाई नै वातावरणीय रूपमा यसले असन्तुलित बनायो ,’ उनले भने, ‘बितेका २५ वर्षमा त्यो वनस्पतिले पारेको नकारात्मक प्रभावलाई हामीले नियालिरहेका छौँ । ०४८÷०४९ तिर सागरनाथ वन परियोजनामा बेर्नाका रूपमा छिरेको मसलाको बिरुवा आज चुरे र मधेसको कुन गाउँ र टोलमा नपुगेको होला र ? तत्काल यसले ५ देखि ७ वर्षमा आम्दानी दिए पनि कालान्तरमा यसले कृषि, पर्यावरण र वातावरणमा पारेको प्रभावलाई केलाउने हो भने आजै गएर त्यो रूख काटौँजस्तो हुन्छ ।’

नेपाली समाजको परम्परागत वनपैदावारलाई मासेर विदेशी अनुदान र सहुलियत ऋणका लोभमा लगाइने यी र यस्ता अन्य वनस्पतिले पर्यावरणलाई कस्तो असर पारेको छ ? भन्ने सरकारीस्तरबाट नै अविलम्ब अनुसन्धान गर्न जरुरी देखिएको थाहायात्राका सम्पादक समेत रहेका पत्रकार प्रभातको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको