
जनकपुरधाम:नेपाल मेडिकल काउन्सिलको सदस्यमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालको छोरीसहित ६ जनाको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि रिक्त रहेको उक्त पदमा माधवपुत्री डा. सुमन नेपालसहित तीन जनाको नाम खुलेको छ भने अन्य तीन जनाको नाम खुलाइएको छैन । डा. सुमन छाला रोग विशेषज्ञ हुन् । काउन्सिल सदस्यका लागि डा. सुमन नेपाल, डा. रिकेशजंग कार्की, डा. मनोजमान श्रेष्ठसहित अन्य तीन विधाका ३ जनाको नाम फाइनल गरी मन्त्रिपरिषदमा पठाइएको हो ।
यसअघिको सरकारमै रहेका स्वास्थ्यमन्त्री रहेका बेला पनि यो फाइल पठाइएकोमा मन्त्री फेरिएपछि फिर्ता आएको र अहिले पुन: पठाइएको हो । डा. सुमन नेपालको नाम यसअघिको सिफारिसमा पनि परेको थियो ।
मन्त्रालयले भने अहिले यो नाम पठाइएपनि मन्त्रिपरिषद बैठकले यी नाम फेरेर अन्य नाम पठाउनसक्ने भएकाले गोप्य राख्न खोजेको बुझिएपनि सिफारिसमा परेकाहरुबाटै यी नाम सार्वजनिक भएको हुनसक्ने जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले रिक्त रहेको सदस्यका लागि पुन: नाम सिफारिस गरिएको सत्य भएपनि व्यक्तिका विषयमा केही सार्वजनिक नगरिएको र अहिले पठाइएका नाम मन्त्रिपरिषदबाट फेरबदल हुनपनि सक्ने बताए ।