जनकपुरधाम:सप्तरीको भारदहमा ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बिक्री वितरण सहज रुपले गर्ने वातावरण बनाउन एकीकृत हाटबजार निर्माण भइरहेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा थालिएको एकीकृत कृषि हाटबजार निर्माणका लागि स्थानीय बीपी माविले १५ कट्ठा जग्गा व्यवस्थापन गराएको छ ।

खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको वडाध्यक्ष सुरेन्द्र मण्डलले बताए । करिब पाँच सय व्यापारी अटाउन सक्ने क्षमतासहित निर्माण भइरहेको हाटबजारमा ५० मिटर लम्बाइ र ४० मिटर चौडाइको हाटबजार स्थल निर्माण भइरहेको स्थानीय जनमत पार्टीका नेता श्यामसुन्दर मण्डलले बताए ।

सार्वजानिक शौचालयसहित सडक बाटो र नालासमेत निर्माण गरिने हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । रु १० करोडको लागतमा उक्त हाट निर्माण भइरहेको जनाइएको छ । जग्गा अभावका कारण भारदह, पोरताहा र मधवापुरमा हालसम्म व्यवस्थित बजारमा हटियाको सेड निर्माण हुन सकेको छैन । दर्जनौँ व्यक्तिको निजी जग्गामा हाल रहेको पोरताहामा तरकारी हटिया शुक्रबार र मंगलबार लाग्ने गर्दछ ।

रोड़ नेटवर्क, हरित पार्क, आधुनिक शौचालय, लाइट व्यवस्थापन र गाडी पार्किङको सुविधासहित तयार हुने एकीकृत भारदह हाटबाजार २४ घण्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको भारदहमा एकीकृत हाट सञ्चालनमा आएपछि यहाँ व्यापारव्यवसाय फस्टाउँनुका साथै आर्थिक समृद्धि हासिल हुने बुद्धिजीवीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको