जनकपुरधाम:मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था तथा अभ्यासमा जोड दिइरहेको बताएका छन् ।
बिहीबार सर्लाहीको मलंगवामा आयोजित प्रदेशस्तरीय संयुक्त विपत् अभ्यास कार्यक्रममा उनले विपत् व्यवस्थापन साझा जिम्मेवारी र संयुक्त प्रयासबाट मात्र सम्भव भएको बताउँदै यसका लागि सरकारी संयन्त्र, गैरसरकारी तथा निजी क्षेत्र, समुदाय र नागरिक स्वयं संवेदनशील हुनुपर्ने उल्लेख गरे ।
विपत् अभ्यास कार्यक्रमअन्तर्गत विपत् व्यवस्थापनका सरोकारवाला संयन्त्र एवम् संस्थाद्वारा आयोजित अग्निनियन्त्रण अभ्यास कार्यक्रममा मन्त्री लेखीले अग्नि बरदान र अभिशाप दुवै भएको भन्दै अनियन्त्रित अग्निले ध्वंश मच्चाउने भएकाले जीवजगतलाई सम्भावित अग्निप्रकोपबाट बचाउन पूर्वतयारीका साथै अग्निशमन अभ्यासमा दक्षता जरुरी रहेको औंल्याए ।
मन्त्री लेखीले नेपालमा प्राकृतिकभन्दा मानवीय कारणले अग्निसम्बद्ध विपत् आइपर्ने हुँदा अग्निप्रयोगमा सतर्कता अपनाउनुपर्ने बताए ।
मन्त्री राजकुमार लेखीले मातहतका निकायद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाए । मन्त्री लेखी सर्लाहीमा नेपाली सेना, नेपाल प्रहरी ,शसस्त्र प्रहरी बल, सर्लाही जिल्लाका विभिन्न पालिका, वन डिविजन कार्यलय, रेडक्रस लगायत अन्य विपत व्यवस्थापन निकायको पहलमा आयोजना गरिएको प्रदेश स्तरीय संयुक्त विपत अभ्यास कार्यक्रमको अवलोकन गरेका हुन् । कार्यक्रममा अग्नी नियन्त्रणका विभिन्न अभयासहरु सुरक्षा निकायका कर्मचारीहरुले सामुहिक रुपमा प्रस्तुत गरेका थिए ।
साथै बिहिबार नै मन्त्री लेखी मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरु संगै नवलपुर स्थित ईलाका प्रहरी कार्यलय र लालबन्दीको फुलजोर चौकी निरिक्षण गरेका थिए । गृहमन्त्री लेखी लालबन्दीमा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम समेत सरिक भएका थिए ।