
उच्च अदालतको फैसला विरुद्ध आपति जनाउनेविरुद्ध अव्हेलना मुद्दा
जनकपुरधाम:कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरधामको फैसलाविरुद्ध आपति जनाउंदै हो हल्ला गर्ने घटनाका पिडीत भनिएका पक्षमाथि अदालतको विरुद्ध मानहानी अव्हेलना मुद्दा लगाइएको छ ।
धनुषा सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा गत ९ वर्षअघि भएको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरधामले सफाई दिएपछि पिडीत पक्ष आपति जनाउंदै उच्च अदालतमै न्यायधिश विरुद्ध नाराबाजी गरेका थिए ।
घटनामा मारिएका रामसेवक राउतका छोरा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै न्यायधिश विरुद्ध नारावाजी गरेको दुवैजनालाई पक्राउ गरी अव्हेलनाको मुद्दा लगाइएको छ । पक्राउ परेकै दिन बेलुका तिर उनीहरुलाई ३ हजार धरौटी लिई तारिखमा रिहा गरिएको उच्च अदालत जनकपुरधामका उपरजिष्टार शुशिल यादवले जनाएको छ ।
उनले भने फैसलामा असन्तुष्टि भए पुनः रिट वा सर्वोच्चमा जान सक्ने विभिन्न कानूनी बाटो हुँदाहुँदै अदालत परिसरमा न्यायधिशविरुद्ध नाराबाजी र होहल्ला गर्नु अदालत र न्यायधिशको मानहानी भएकाले अव्हेलना मुद्दा लगाइएको थियो । तरपछि अव्हेलना मुद्दाको बहस पश्चात तिनीहरुलाई धरौटीमा रिहा गरिसकिएको हो । अदालतको मानहानी अव्हेलना मुद्दामा ३ वर्षसम्मको कैद सजाय वा १० हजार रुपैया जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।
विद्यालय व्यवस्थापन गठनको भएको विवादमा २०७१ साल चैत ८ गते स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको सो घटनामा मृत्यु भएको थियो भने रामसागर साहसहित करीब एक दर्जन व्यक्ति घाइते भएको थिए । जसमध्ये रामसागर गम्भीर भएका थिए । लामो समयसम्म उनको उपचार भएको थियो ।
जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका तिनैजनाले जिल्ला अदालतको फैसलामा चित नबुझेको भन्दै उच्च अदालत गत वर्ष वैशाख ४ गते रिट हालेका थिए । सोही मुद्दाको फैसला गर्दै बिहीवार न्यायधिशद्वय ओमप्रसाद अर्याल र किरण पोखरेलेको संयुक्त इजलाशबाट आरोपित भनिएकाहरु २८ औं जना सफाई पाएका हुन ।
उच्च अदालतले जिल्लाको फैसला उल्टाई यसअघि आरोपित भनिएकाहरु सफाई पाएका छन् । घटनाका मुख्य योजनाकार भनिएका योगनारायण यादवको कोरोना संक्रमणको बेला दुई वर्ष नै निधन भइसकेको छ ।
सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुई तर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।
पिडीत पक्षले एमाले योगनारायण यादव नेता यादव, उनका भाई महेन्द्र यादव, दुर्गाप्रसाद साह, जगदीश यादव, रासविहारी यादव, अक्षयलाल महतो, लक्ष्मीनारायण यादव लगायत करीव २९ जनालाई प्रतिवादी बनाई जिप्रका धनुषामा किटानी जाहेरी दर्ता गराएको थियो । आरोपी मध्ये र १९ जनालाई एक वर्ष कैद सजायको फैसला ६ जनालाई सफाई जिल्ला अदाललत धनुषाले २०७२ साल चैत २२ गते गरेको थियो ।
सजाय पाएकाहरुबाट टुक्रा टुक्रामा मुद्दा
जिल्ला अदालतको फैसला आएको ६-७ वर्षपछि वर्ष २०७८ र ०७९ मा आरोपित ठहराइएकाहरु मध्ये २२ जनाले विभिन्न समूहमा विभाजन भई टुक्रा टुक्रा भई उच्च अदालतमा पिडीत परिवारबाट उजुरी दिने सिकिलदेवी गडेरी र श्यामकिशोर साह विरुद्ध उजुरी दिएका थिए । जन्मकैद सजाय पाएका महेन्द्र यादवसहितका ३ जनाले २०७९ वैशाख ४ गते, जगदीश यादवसहितका ८ जाले सोहीवर्ष कात्तिक २४ गते, २०७८ फागुन ३० गते अच्छेलाल सहितका २ जना र बुधेश्वर यादवले जिल्लाको फैसलामा असन्तुष्टि जनाउंदै छुट्टाछुट्टै रुपमा उच्च अदालतमा मृतक परिवारविरुद्ध मुद्दा हालेका थिए ।
सोही वर्ष चैत २८ गते लालबिहारी यादव सहितका ४ जना समेतले जिल्लामा मुद्दा दिने मृतक परिवार सिकिल देवी र श्यामकिशोर विरुद्ध मुद्दा हालेका थिए । यिनीको प्रतिउत्तरमा सिकिल देवी र श्यामकिशोर समेतले जिल्ला अदालतबाट सजाय पाएकाहरु २९ जना मध्ये २८ जना विरुद्ध २०७९ साउन ११ गते उच्च अदालतमा मुद्दा दिएका थिए ।
सो घटना सम्बन्धमा जिल्ला अदालतबाट सजाय ठहर भएकाहरुमध्येबाट ६ र मृतक परिवारबाट एउटा गरी ७ वटा मुद्दा परेको थियो । ती ७ वटै मुद्दा मध्ये जिल्ला अदालतबाट सजाय पाएकाहरुले दिएका ६ वटै मुद्दाको पूरै फैसला र मृतक परिवारका केही फैसला उच्च अदालतले उल्टाई दिएको छ ।
मृतक परिवारहरुले आफूसँग उच्च अदालतले अन्याय गरेको गुनासो गरेका छन् । मृतक रामसेवक परिवारले जिल्लाले न्याय दिएपनि उच्च अदालत फैसला उल्टाएर आफू पिडीतहरुलाई थप पिडीत बनाएको भने । पिडीत परिवाहरुले मुद्दालाई कमजोर बनाउन सुनियोजित रुपमा पिडक पक्षहरुले टुक्रा टुक्रामा आफूहरु विरुद्ध नै मुद्दा दिएको र अन्त्यमा अदालतलाई प्रभावमा पारेर सफाई पाएको पीडा पोखेका छन् ।