जनकपुरधाम:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसमाथीको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाएका छन् । महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नगरेको गुनासो गरे ।
उनले सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेसमाथीको विभेदको उदाहरण रहेको बताए । मधेस देशको लगभग ५१ प्रतिशत जनसंख्या ओगटेको छ, लोसपा अध्यक्ष ठाकुरले भने ‘आधा भन्दा बढी जनसंख्या भएपनि १ सय ६५ मध्ये शुरुमा ६५ सीट मात्रै दिइएको थियो तर हामीहरुकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकि हाम्रो माग ८२ सीट रहेको छ ।’
अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि पनि अझै पनि संघर्षको आवश्यक्ता रहेको बताए ।
लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको स्मरण गराउँदै आफूहरुले शान्तिपूर्ण संघर्ष गर्दा पनि गोली लठ्ठी खानु परेको पीडा सुनाए ।
अन्तरिम संविधानमा रहेका अधिकार पनि वर्तमान संविधानबाट हटाइएपछि पटक पटक संघर्ष गर्नुपरेको र सोही संघर्षका कारण कयौँले सहादत प्राप्त गरे भने कयौँ घाइते भएको बताउँदै उनले आन्दोलन गरेकै कारण कयौँ साथी जेल सजाय काट्न बाध्य भएको बताए । संविधान संशोधन तथा आन्दोलनकारीहरुको न्यायका लागि अझै संघर्ष गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा गरिब तथा विपन्न परिवारलाई ग्यास सिलिण्डर तथा ग्यास चुल्हो वितरण गरिएको छ ।
मटिहानी नगरपालिकास्थित सुशिला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसनको आयोजना एवं मटिहानी नगरपालिकाको संयोजनमा गरिब तथा विपन्न परिवारलाई ग्यास सिलिण्डर तथा ग्यास चुल्हो वितरण गरिएको हो । भारत सरकारको उज्वला योजना कार्यक्रमबाट प्रेरित भएर भारतीय राजदूतावासको सहयोगमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३मा पर्ने पालिकाहरुमा पछाडि पारिएका समुदाय एवं विपन्न परिवारलाई ग्यास सिलिण्डर तथा ग्यास चुल्हो वितरण गरिने फाउण्डेसनका अध्यक्ष मिनाक्षी ठाकुरले जानकारी दिनु भयो । यो कार्यक्रम महोत्तरीको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, मनरा सिस्वा नगरपालिका, एकडारा गाउँपालिका र पिपरा गाउँपालिकामा संचालनमा ल्याइने उहाँले बताउनु भयो ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिका भित्र यो कार्यक्रम अन्तर्गत २ हजार गरिब तथा विपन्न परिवारलाई ग्यास चुल्हो एवं सिलिण्डर वितरण गरिने जानकारी दिनुभयो । उहाँले बाँकी गरिब तथा विपन्न परिवारलाई समेट्ने गरी वडा स्तरमै योजना ल्याइने बताउनु भयो ।
कार्यक्रममा मधेस प्रदेशको वन मन्त्री रमेश पटेल, प्रदेशसभा सदस्यहरु रानी शर्मा तिवारी, रुपा यादव लगायतको उपस्थिति रहेको थियो ।