जनकपुरधाम:मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउनमा मधेश प्रदेशको सबैभन्दा ठूलो भूमिका रहेको बताएका छन् । ‘वीरगन्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेश आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको बताए ।

’मुलुकमा सङ्घीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले सङ्घीयताको महसुस गर्न पाइरहेका छैनन्’, उनले भने, ’छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा समस्या पारेको छ, वीरगञ्ज शहरले सङ्घीय सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्दै आइरहेको छ, तर सङ्घीय सरकारले भने वीरगन्जलाई सोहीअनुसारको बजेट तथा अन्य सहुलियत प्रदान गरेको छैन ।’

प्रतिनिधि सभाका सांसद प्रदीप यादवले सङ्घीय सरकारले मुलुककै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगन्जलाई बेवास्ता गरेको बताए । ’वीरगन्जले सरकारको ढुकुटीमा सबैभन्दा धेरै हिस्सा ओगट्ने गर्छ, तर सङ्घीय सरकारले भने वीरगन्जको आर्थिक तथा सामाजिक विकासमा जुन रूपमा अघि बढाउनुपर्ने थियो, सोही अनुरुपमा काम गरेको छैन, सङ्घीय सरकारले आगामी नीति तथा बजेटमा वीरगन्जका लागि आर्थिक प्याकेजका साथै राष्ट्रिय गौरवका आयोजना पनि अघि बढाउन जरुरी भइसकेको छ’, उनले भने ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगन्जको वैभवलाई सङ्घीय सरकारले चिन्न नसकेको गुनासो गरे । ’वीरगञ्ज सहर आर्थिक, भाषा, संस्कृति र रीतिरिवाजका कारणले वैभव शहरका रूपमा परिचित छ’, उनले भने, ’मुलुकका अन्य महानगरलाई जस्तै वीरगन्जलाई उच्च प्राथमिकता राखेर यहाँको विकास निर्माणलाई प्राथमिकता दिन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको