जनकपुरधाम:जनकपुरधाम उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।
पालिकाले शैक्षिक गतिविधिमा ध्यान नपुर्याएको, समयमै तलब निकास नगरेको भन्दै शिक्षकहरु उपमहानगरको शिक्षा शाखामा तालाबन्दीका साथै धर्ना समेत दिएका छन् । आइतबार जनकपुरधाम उपमहानगर कार्यालय पुगेर शिक्षकहरुले पालिकाबाट सामुदायिक विद्यालयहरुले पाउनुपर्ने सुविधा अझै पाउन नसकेको भन्दै तालाबन्दी गरेर १० बजेदेखि बेलुका ५ बजेसम्म धर्नामा बसेका थिए ।
शैक्षिक सत्र समाप्त हुनै लाग्दा समेत पालिकाले पाठ्यपुस्तकको रकम, छात्रवृतिको रकम, संघिय सरकारबाट आउने अनुदान, खेलकुदका लागि विद्यालयले पाउनु पर्ने रकम पालिकाले उपलब्ध नगराएको शिक्षकहरुको आरोप छ ।
शैक्षिक सत्र समाप्त हुनै लागेको छ, याज्ञवल्क्य संस्कृति नमूना माविका प्रधानाध्यापक संजय झाले भने ‘पालिकाले सामुदायिक विद्यालयलाई हेर्नुपर्ने हो तर कुनै मतलब छैन, बाध्य भएर शिक्षा शाखामा तालाबन्दीका लागि आउनु परेको हो ।’
सामुदायिक विद्यालयका शिक्षकहरु उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत समक्ष आफ्नो समस्या लिएर पुग्दा भेट्नसम्म इन्कार गर्ने गरेको उनले आरोप लगाए । यता यो विषयमा नगरप्रमुख मनोजकुमार साह समक्ष गुनासो गर्दा यस विषयमा प्रशासकिय अधिकृत संगै भेटेर समाधान खोज्न भन्दै आलटाल गर्दै आएको उनले बताए । तर प्रशासकिय अधिकृत घण्टौ कुराएर पनि शिक्षकहरुसंग भेट्न तयार नभएपछि तालाबन्दी तथा धर्नाको बाटो रोज्नु परेको शिक्षकहरु बताउँछन् ।
यता यस विषयमा छलफलका लागि सोमबार शिक्षकहरुलाई उपमहानगरमा बोलाइएको बताइएको छ ।