![](https://edailyexpress.com/wp-content/uploads/2024/04/nayayalay-le-anyay-gareko.jpg)
जनकपुरधाम:न्याय प्रदान गर्ने अदालतबाटै अन्यायमा परेको भन्दै जनकपुरधाममा पडितले प्रदर्शन गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीशले आफूहरुसंग अन्याय गरेको भन्दै पीडितले आइतबार प्रदर्शन गरेका छन् ।
धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टी जनाउँदै आइतबार अदालत प्रदर्शन गरेका हुन् ।
धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका र बाँकी प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरले सफाइ पाएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टी जनाउँदै फैसला गरेका न्यायाधीशद्वय बिरुद्ध नारावाजी समेत गरेका हुन् ।
उच्च अदालत जनकपुरका न्यायाधीशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले फैसला सुनाएको थियो । फैसला गर्ने न्यायाधीशद्वयलाई काराबाही र न्याय दिनु पर्ने मागसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरिएको पीडित सञ्जीव राउत गडेरीले बताए ।
यसअघि घटनामा मारिएका रामसेवक राउतका छोरा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाबिरुद्ध नारावाजी समेत गरेका थिए । नारावाजी गरेको आरोपमा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहलाई तत्कालै पक्राउ गरी अदालतले अवहेलना मुद्दामा तीन ÷तीन हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।
गत चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेश यादव र रासविहारी भन्ने लालविहारी यादव सहित १ सालको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला पल्टाउँदै अभियोग दावीबाट सफाई दिएको छ । उच्च अदालत जनकपुरको इजलाश नम्बर ४ मा न्यायधिशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलाशले जिल्ला अदालतको फैसला पल्टाउँदै प्रतिवादी सबैलाई सफाई दिने फैसला सुनाएको छ ।
सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुई तर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।