
जनकपुरधाम:सिरहा प्रहरीले लहानबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिरहाको लहान नगरपालिका वडा न. १९ का करिब २४ वर्षीय सन्तोषकुमार साह र स्थानीय २५ वर्षीय शिवनाथ महतोलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
सिरहाको लहान नगरपालिका– ३ मा पर्ने पूर्व–पश्चिम सडकको बस स्ट्यान्डमा अस्पताल चोकतिरबाट आउँदै गरेको प्रदेश २–०१–००१ प ७३८० नम्बरको मोटरसाइकलमा रहेका दुईजनालाई लहान प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले पक्राउ गरेको हो ।
मोटरसाइकल रोकेर दुवैजनालाई खानतलासी गर्दा साहले बोकेको कपडाको झोलामा एक सय ३३ एम्पुल फेनार्गन, एक सय ३५ एम्पुल बुप्रेनोर्फिन र एक सय ३४ एम्पुल डाइजिपाम फेला परेको प्रहरीले जनाएको छ ।