जनकपुरधाम:नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देखाउन आदेश दिएको हो । सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो कारण देखाउन भनेको छ ।
गत पुस २७ मा कैलालीको टीकापुरमा सम्पन्न नाउपाको महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई अध्यावधिक गर्न निर्वाचन आयोगनमा निवेदन दिएका थिए ।
तर निर्वाचन आयोगले टीकापुर घटनामा दोषी ठहर भएको विषयलाई लिएर अध्यक्षमा मान्यता दिन नमिल्ने फागुन २४ मा निर्णय गरेको थियो । त्यसका विरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका थिए । रिटमा निर्वाचन आयोग र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई विपक्षी बनाइएको छ ।
चैत २३ गते दर्ता भएको चौधरीको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउन आदेश दिएको हो । यससँगै सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।