जनकपुरधाम:मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने गरेको बताएका छन् ।
मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा सोमवार आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता हाम्रो देशको विशेषता रहेकाले हिन्दु मुस्लिमबीच सद्भाव कायम राखेर अघि बढनुपर्नेमा जोड दिए ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने आशा व्यक्त गरिन् ।
बिचौलियाहरुले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लगाएका छन् । अध्यक्ष अन्सारीले नेपालमा वर्षौदेखि हिन्दु मुस्लमान एक साथ बस्दै आएको विशेषता हो र यही देशको पहिचान विविधतामा एकता रहेको बताए ।
उनले भने हाम्रो यी विविधतामा एकता खल्बलाउन मधेशका केही जिल्लामा धार्मिक सहिष्णुता भड्काउन हिन्दु मुस्लिमबीच दँगा गराउन खोज्ने प्रयास गर्दै आएकाले त्यसलाई चिरेर हामी सबैले अघि बढनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेश प्रदेशमा देशकै सबैभन्दा बढी मुस्लिम समुदाय बसोबास गर्ने ठाउँ भएकाले मुस्लिम आयोगले सामूहिक रोजा खोल्ने कार्यक्रम गरेर निक्कै सराहनीय काम गरेको बताए ।
मुस्लिम आयोगका सचिव चण्डिका प्रसाद घिमिरेले प्रेम, सद्भाव तथा त्यागको महिनाको रुपमा रहेको रमजानले सामाजिक तथा धार्मिक सद्भाव कायम गराउनमा ठूलो मद्दत पुग्ने बताए । सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश सभाका सदस्य जैनुल राईन, आयोगका सदस्य अर्षद मिर्जा वेग सहितका वक्ताहरूले रमजानको विशेषता बारे आ आफ्ना धारणा राखेका थिए ।