एमडीसहित दुईजना पक्राउ
जनकपुरधाम:वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो ।
नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेन अन्सारी र ल्याब टेक्निसियन संजय साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको पर्साका प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।
उनका अनुसार बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको हो ।